Dhulikhel Eco Banner new

साना उद्यमी व्यवसायीको आत्मविश्वास बढाउन मेरो उम्मेदवारी : इन्द्र खनाल

8.35K
shares

काठमाडौं, २६ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुतर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका इन्द्र खनालले साना व्यवसायीको आत्मविश्वास बढाउनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक संघका निर्वतमान अध्यक्षसमेत रहेका खनालले साना उद्यमी व्यवसायीका मुद्दालाई लिएर आफूले उम्मेदवारी दिएको बताएका हुन् ।

देशको समग्र आर्थिक विकासका निम्ति ठूला उद्योगी व्यवसायीसँगै साना उद्यमी व्यवसायी पनि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । ‘ठूलाको हात समातेर साना अगाडि बढेको खण्डमा गन्तव्यमा पुग्न नसकिने रहेछ, अहिले महासंघमा साना उद्यमी व्यवसायीका मुद्दा छायाँमा परिरहेको छन्,’ उनले भने । ती छायाँमा परेका मुद्दालाई राष्ट्रिय मुद्दा बनाउनका लागि पनि आफू महासंघमा उम्मेदवार बनेको उनको भनाइ छ ।

साना उद्यमी व्यवसायीले उत्पादन, निर्यात, रोजगारी लगायतका क्षेत्रमा योगदान दिँदै आएका छन् । तर, उनीहरूका समस्या र व्यवसाय विस्तार लगायतका विषयमा राज्यका नीतिगत तहमा आवाज पुग्न नसकेको यथार्थलाई बदल्नका निम्ति नेपाल उद्योग वाणिज्य महासंघमा आफ्नो उपस्थिति आवश्यक रहेको खनालले बताए । ‘अहिले देखिएको तरलता अभाव, उच्च ब्याजदर उत्पादनले बजार नपाउनेजस्ता समस्याबाट व्यवसायीहरू पीडित छन् । नेपालमै गरिखान सकिन्छ भन्ने अनुभूति दिलाउँदै उद्यमी व्यवसायीको पलायनलाई रोकेर उनीहरूको आत्मविश्वास बढाउँदै अभिभावकीय भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ,’ खनालले भने ।

साना उद्यमको विकासका निम्ति विभिन्न क्षेत्रमा देखिएका नीतिगत समस्या सुल्झाउनुपर्ने आवश्यकता रहेको खनालको भनाइ छ । अर्घाखाँचीबाट सम्भावना खोज्दै काठमाडौं आएपछि व्यापार व्यवसायमा संलग्न हुने क्रममा खनाल सौर्य विद्युत् उत्पादनका क्षेत्रमा काम गर्न थाले । ‘हुन त देशले आर्थिक फड्को मार्न ठूलो लगानीको आवश्यकता पर्छ तर सानो पुँजीबाट शुरु भएका उद्योग व्यवसायले पनि देशको समग्र अर्थतन्त्रमा योगदान पु¥याउन सक्छन् भन्ने कुरा भूकम्प, नाकाबन्दी, कोभिडका बेला प्रमाणित भएको छ,’ खनालले भने ।

यद्यपि, उनीहरुका समस्यामा स्वामित्व लिने काम नभएको खनालको बुझाइ छ । खनालले आफूलाई नेपालको पहिचानका रूपमा रहेको नवीकरणीय ऊर्जा क्षेत्रले साझा उम्मेदवारका रूपमा अगाडि सारेको उल्लेख गर्दै नेपालको आर्थिक विकासका निम्ति मात्रै होइन लगानीको नयाँ सम्भावनाको क्षेत्रका रूपमा पनि नवीकरणीय ऊर्जा रहेकाले महासंघमार्फत् आवश्यक भूमिका खेल्न सकिने बताए ।