Dhulikhel Eco Banner new

१० अर्ब बढीको विद्युत भारत निर्यात, विदेशी मुद्रा आर्जनको स्रोत बन्दै

5.66K
shares

काठमाडौं, २ मंसिर । केही वर्ष अघिसम्म नेपालमा २० घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । सरकारी स्वामित्वमा रहेका संस्थानहरुमध्ये घाटामा चलिरहेको विद्युत प्राधिकरणले पछिल्लो समय निकै लोभलाग्दो गरी नाफा कमाइरहेको छ । नाफा कमाउने मात्रै होइन विद्युत प्राधिकरणले पछिल्लो सयम नेपालमा खपत भएर बढी भएको विद्युत भारतमा बिक्री गरेर विदेशी मुद्रा आर्जन समेत गरिरहेको छ ।

चालु आर्थिक वर्षको हालसम्म विद्युत प्राधिकरणले १० अर्बभन्दा बढीको विद्युत निर्यात गरेको छ । जुन आफैमा ठूलो उपलब्धी हो । चालू आर्थिक वर्षको हालसम्म १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत भारत तर्फ निर्यात भएको छ । चालू आर्थिक वर्षको कात्तिक महिनासम्म प्राधिकरणले १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत भारतलाई बिक्री गरेको छ ।

प्रााधिकरणले जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा बिजुली बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । पछिल्लो समय विद्युत व्यापारले नेपालको भारतसँगको व्यापार घाटालाई कम गर्न मद्दत त गरेको छैन । त्यसका साथै विदेशी मुद्राको सञ्चितिमा समेत टेवा पु¥याएको छ ।

सुरुवाति चरणमा २ वटा विद्युत् गृहको ३९ मेगावाट बिजुलीलाई स्रोत मानेर दैनिकरूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि दैनिकरूपमा ६ वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिकरूपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा बिक्री गर्न सुरु गरीएको थियो ।

गएको कात्तिक १८ र ३० गतेदेखि क्रमशः चिलिमे र सोलुखोलाको बिजुली समेत निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने बिजुलीको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ । खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट बिजुली उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा आए पछि नेपाललाई लोडसेडिङ मुक्त बनाएका कुलमान घिसिङले त्यसपछि विद्युत निर्यातको लागि काम गरिने बताएका थिए । जुन कार्य अहिले भइरहेको छ । सुख्खा याम सुरु भएकाले विद्युत उत्पादन कम हुने समयमा भने नेपालले विद्युत बिक्री गर्न सक्दैनन् । नेपालका खोलानालाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिएको अवस्थामा भने नेपालले बाह्रै महिना विद्युत बिक्री गर्न सक्ने सम्भावना रहेको छ ।