प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ निष्कासन नहुने
वि.सं.२०८१ मंसिर १३ बिहीवार १३:३८
shares

काठमाडौं, १३ मंसिर । धितोपत्र बोर्डले जगदम्बा स्टिल र मारुती सिमेन्टको डेडिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानी नगरेसम्म साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति नदिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल बाँकी रहेको पत्र पठाएपछि धितोपत्र बोर्डले जगदम्बा स्टिल र मारुती सिमेन्टलाई तत्काल आईपीओ निष्कासनको अनुमति नदिने भएको हो ।
दुवै कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । तर बक्यौता बाँकी रहेको भनेर प्राधिकरणले पत्र पठाएपछि विगतको अभ्यास अनुसार रोकिने बोर्डले जनाएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्तिक २५ गतेको मन्त्रिपरिषद्को निर्णय र मङ्सिर ११ गतेको विद्युत् नियमन आयोगले बक्यौता उठाउन भनेको बेहोरासहितको पत्र बुधवार बोर्डमा पठाएका थिए ।
जसमा मारुती सिमेन्टले ५७ करोड ४४ लाख ७९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको उल्लेख छ । जगदम्बा स्टिलको भने १ अर्ब ६० करोड १८ लाख ४३ हजार रुपैयाँ बक्यौता रहेको पत्रमा जनाइएको छ ।



















