विद्युत् प्राधिकरणको २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १३:५७
shares

काठमाडौं, १३ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका आठ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि स्वीकृति नवीकरण गरेको हो।
प्राधिकरणले देशभित्र खपत भएको अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) मार्फत डेअहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। यसका साथै द्विपक्षीय सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री भइरहेको छ। भारतीय प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि निर्यात भइरहेको छ।
स्वीकृतिमा चार आयोजनाबाट उत्पादित १३५ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्रीका लागि अनुमति पाएका आयोजनाको नवीकरण भएको हो। नयाँ स्वीकृति गत मंगलबारदेखि लागू हुँदै करिब एक वर्षका लागि मान्य हुनेछ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारत भ्रमणको क्रममा विद्युत् मन्त्री मनोहरलाल खट्ठरसँग भेट गर्दै नवीकरण प्रक्रिया छिटो गर्ने अनुरोध गरेका थिए।
यस निर्णयपछि चार आयोजनाबाट उत्पादन हुने विद्युत् निरन्तर रुपमा आईएक्समार्केटमा बिक्री गर्न सकिने भएको छ।


















