निजी क्षेत्र मैत्री वातावरण बनाउन सांसदहरुको प्रतिवद्धता
वि.सं.२०८१ भदौ ३ सोमवार १०:५४
shares

काठमाडौं, ३ भदौ । संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्र मैत्री नीति निर्माण आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजित उक्त कार्यक्रममा उपस्थित एक सय भन्दा बढि सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति निर्माण गरिने प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहको बताए । साथै वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको बताए ।
निरन्तर निजी क्षेत्रसंग सम्वाद गरि उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको मन्त्री पौडेलले बताए । उनले तात्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको जानकारी गराए ।
साथै, अर्थमन्त्री पौडेलले आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरिय सुधार आयोगले अध्ययन गरि अल्प मध्य र दीर्घकालीन सुधार गर्ने बताए । साथै सरकारले बनाउने कुनै पनि कानुन एकोहारो ढंगले लादने क्रममा नरहेको बताए । महासंघले संसदमा बिचाराधीन र निजी क्षेत्र सम्वद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रुपमा उद्यमी व्यवासीका सुझाव प्रस्तुत गरेको थियो ।
विशेष अतिधि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संसोधनले वातावरण तयार पारको बताए । उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरुको दर्ता हुने क्रम बढेको बताए । पहिले निजी क्षेत्र बजेटमा सुझाव दिने मात्रै रहेकोमा हाल महासंघले निरन्तर कार्यक्रम आयोजना गरि कार्यपालिका र व्यवस्थापिकालाई झक्झाइरहेको बताए ।
सोही अवसरमा उर्जामन्त्री दिपक खडकाले संसदमा बिचाराधीन विद्युत र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भैरहेको बताए । उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारणलाइन लगायतमा निजी क्षेत्रको प्रवेशका बिषयमा पनि सरकारले छलफल गरिरहेको जानकारी दिए ।
संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक वित्तिय संस्था सम्बन्धि लगायतका कानुनमा छलफल भैरहेको वताउँदै यसमा वृहद छलफल गरि निर्णय गरिने बताए ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्वाध काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाई थियो ।
यता, कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला समितिले निजी क्षेत्रलाई काम गर्न कानुन वाधक नहुने बताए ।नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले निजी सामाजिक न्याय सहितको निजी क्षेत्रका आर्थिक गतिविधिलाई अगाडि बढाउन आप्mनो पार्टि सधै तयार रहेको बताए । राष्टिय स्वतन्त्र पार्टिका प्रवक्ता मनिष झाले परम्परागत रुपमै उद्यमी व्यवसायीको मान कम हुने गरेको र अहिले पनि सोही प्रवृत्ति रहेको वताए । निजी क्षेत्रलाई काम गर्ने वतावरण बनाउन निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गरि व्यवसायीको मनोबल बढाउनुपर्ने उनको भनाई थियो ।
महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराएका थिए । निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखि नै सकिएको भन्दै अध्यक्ष ढकालले कानुनसम्मत व्यवसाय गर्न अवरोध गर्न नहुने बताए । यसैगरि लगानी र उत्पादन निरुत्साहित हुने गरि कानुन नबनोस भनेर कार्यक्रम आयोजना गरि सुधारको पहल गरिएको बताए ।


















