आर्थिक बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक
वि.सं.२०८१ भदौ १८ मंगलवार १०:४४
shares

काठमाडौं, १८ भदौ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसंगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्पm ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने वताएका छन् । महासंघको आग्रहमा नया चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक भएको बताए ।
महासंघ कार्यसमितिले सोमबार मुख्य सचिव अर्यालसँग भेट गरेको हो । यसैगरि निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गरेका छन् । यसैगरि सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ सुशासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको छ ।
यसैगरि निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानुनहरु बनेको अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरेका छन् ।
भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफुले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिएका छन् । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन् ।


















