Dhulikhel Eco Banner new

महासंघद्वारा प्यारालम्पिकमा काश्यपदक बिजेता पलेशा गोवर्धन सम्मानित

अध्यक्ष ढकालद्धारा आफ्ना सदस्य र समग्र निजी क्षेत्रलाई खेलकुदमा सहयोग बढाउन आव्हान

2.69K
shares

काठमाडौं, २३ भदौ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय श्री पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैया सहित सम्मान गरेको हो । गोवद्र्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुुरुवात गरेका छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो । गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताए । महिलाहरूको ५७ के.जी. के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेका थिए ।

सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवद्र्धन, प्रशिक्षक र म्यानेजरलाई वधाइ ज्ञापन गर्नु हुँदै यसरी सम्मान गर्न पाउदा खुशी लागेको बताए । साथै उनले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोवद्र्धन लगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्‍याउनुपर्छ ।’

महासंघका अनुसार पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकालको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैर नाफामूलक संस्था हो ।