लगातारको वर्षापछि मुग्लिन–काठमाडौं सडक बन्द, पहिरो हटाउने कार्य जारी
वि.सं.२०८३ साउन ४ सोमवार १०:०५
shares

काठमाडौं, ४ साउन । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। धादिङ र चितवनका विभिन्न स्थानमा खसेका पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा दुई स्थानमा र चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। अवरोध हटाउन डोजरसहित प्राविधिक टोली परिचालन गरिएको छ।
सडक बन्द भएपछि काठमाडौंतर्फ र मुग्लिनतर्फ गन्तव्य बनाएका सवारीसाधनलाई कुरिनटार, नागढुंगा र सिम्ले लगायतका सुरक्षित स्थानमा रोकिएको छ। सडक खुल्ने समय भने अझै निश्चित भइसकेको छैन।
यता, नारायणगढ–मुग्लिन–पोखरा सडकखण्डमा भने सवारी आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ थली क्षेत्रमा सडकमा जमेको लेदो हटाइएपछि बीपी राजमार्ग पनि पुनः सञ्चालनमा आएको छ।
प्रहरीले वर्षायाममा पहिरोको जोखिम उच्च रहेकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



















