नागढुङगा सुरुङमार्गको निर्माण : ३१ महिनामा ६० प्रतिशत काम सम्पन्न
११ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्नु पर्ने
वि.सं.२०७९ भदौ ६ सोमवार १४:२०
shares

काठमाडौं, ६ भदौ । नागढुङगा सुरुङमार्ग आयोजना निर्माण सुरु भएको ३१ महिनामा अवधिमा ६० प्रतिशत कार्य सम्पन भएको छ । २०७६ सालको कात्तिक ४ गते सम्झौता भएको आयोजनाको निर्माण अवधि ४२ महिना तोकिएको थियो । त्यसमध्ये ३१ महिनाको समय सकिएको र प्रगति ६० प्रतिशत रहेको आयोजनाका सिनियर इन्जिनियर माधव अधिकारीकाले बताए ।
कोरोना महामारी (कोभिड–१९) को कारण सम्झौता भएको ९ महिना पछि मात्रै काम सुरु भएकाले पनि प्रगति कम भएको उनको भनाइ छ । ‘अहिले पनि निर्धारीत समयमा सक्ने लक्षका साथ काम भइरहेको र केही काम बाँकी रहेको खण्डमा थोरै समय थप गरेर कार्य सम्पन गर्नु पर्ने हुन्छ होला’ उनले भने ।
अहिलेसम्म प्रगति हेर्दा यो आयोना निर्माणका लागि समय थप्नु पर्ने अवस्था आउने देखिन्छ । तर आयोजनाका इन्जिनियर अधिकारी भने चुनौति भए पनि काम समयमै सक्ने गरि लागेको बताउँछन् । हाल सुरुङमार्ग बनाउने काममा सबै किसिमका गरी करिब ६ सय जनशक्ति परिचालित भएका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका र धादिङ जिल्लाको सिमानामा निर्माणाधिन सुरुङमार्ग दुई लेनको हुनेछ । यसको लम्बाइ २.६८ किलोमिटर हुनेछ भने सुरुङसहित सडकको लम्बाइ ३.५ किलोमिटर हुन्छ । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग नाम दिइएको यो आयोजनामा जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब लगानीमा निर्माण भइरहेको छ ।

आयोजनामा वोर्किङ अडिटको निमार्ण कार्य भने सम्पन्न भइसकेको छ । यो आयोजनामा ठुलो र सानो गरेर २ वटा टनेलहरु रहेका छन् । टनेलको निर्माणका लागि धादीङ तर्फ र काठमाडौं तर्फबाटै सुरुङ खन्ने काम भइरहेको छ ।
ठुलो सुरुङको पुूर्वतिर अथवा दहचोकतिरबाट ७९८ मिटर खनिएको छ र भने पश्चिमतिरबाट ७१६ मिटर खनिएको छ । सानो टनेल पूर्वतिर ९१४ मिटर खनिसकेको अधिकारीको भनाइ छ । सानो सुरुङको पश्चिमतिरबाट ७२९ मिटर खनिएको छ । निर्माणका लागि बाँकी समयमा कुनै समस्या नआएको खण्डमा आयोजना समयमै काम सकिने र नसकिएमा समय थप गरेर काम सकिने आयोजनाका इन्जिनियर अधिकारी बताउछन् ।
सुरुङमार्ग निर्माणको जिम्मा हाज्मा–आन्द्रो जेभीले पाएको थियो । विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच असोज ६ गते सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएको थियो ।
उक्त आयोजनामा ७ वटा क्रस प्यासेजहरु रहेका छन् । ७ वटामा ५ निमार्ण भइसकेको र अब २ वटा निमार्णाधीन अवस्थामा रहेका छन् । जम्मा १२८ मिटर प्यासेजमध्ये ७२ मिटर खनिसकिएको छ । ओरपास एउटा निमार्ण भएको छ । अन्डरपास ३ वटा भएकोमा २ बनिसकेका छन् भने एउटा निमार्णको क्रममा रहेको छ । आयोजनामा अहिले कुल पाँच सय ५० कामदारहरु (प्राविधिकसहित) कार्यरत छन ।
दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २.६८८ किलोटिर रहेको छ । यसको चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । यो मार्गको निमार्णपछि नौविसेबाट थानकोट आउने समयमा ३० मिनेट जोगिने छ । ४० मिनेट लाग्ने उक्त यात्रा यो सुरुङमार्ग निर्माण भए पछि १० मिनेटमा नै पुरा गर्न सकिने छ ।

भारतबाट सामान लिएर आएका ठुलाठुला कन्टेनरका कारण नौबिसे नागढुङगा सडकमा निकै लामो जाम हुने गरेको छ । यसबाट छुटकारा पाउनका लागि नै यो सुरुङमार्ग निर्माणको काम थालिएको हो । यो सडकमा पूर्व मेचीदेखि पश्चिम महाकालीबाट आउने सवारीहरुको चाप समेत थेग्न नसकेको यो सडकलाई सो चापबाट मुक्त बनाएर सहज यात्राका लागि सहज बनाउनका लागि यो आयोजनाको सुरुवात भएको हो ।
अहिले यो बाटोमा हुने जामका कारण यात्रुहरुले निकै नै सास्ती भोग्दै आएका छन् । यो सुरुङमार्ग संचालनमा आपछि यस समस्याबाट मुक्त हुने आम मानिसहरुको विश्वास रहेको छ ।















