Dhulikhel Eco Banner new

तीन वर्षमा ‘मिनी रङ्गशाला’ को ३३ प्रतिशत मात्रै काम

5.54K
shares

काठमाडौं, २६ भदौ । सिन्धुपाल्चोकको सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रङ्गशाला निर्माण थालिएको तीन वर्षमा ३३ प्रतिशत मात्रै काम भएको छ ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, काभ्रेमार्फत ४१ करोड ६२ लाख लागतमा रङ्गशाला निर्माण सुरु गरिएको हो । निर्माण थालिएको तीन वर्षमा अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन ।

जिल्लामा खेलकुद गतिविधिलाई लक्षित गरेर निर्माण सुरु गरिएको रङ्गशालाको काम साढे दुई वर्षमा सकिनेगरी सम्झौता गरिएको थियो ।
ठेकेदार कम्पनीको लापर्वाहीले सम्झौता सकिएको पाँच महिनासम्ममा पनि जम्मा ३३ प्रतिशत मात्र काम भएको सार्वजानिक निर्माण कार्यान्वयन इकाइ भैँसेपाटीका प्रमुख डा चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए ।

उहाँका अनुसार रङ्गशालाको पूर्वपश्चिम र उत्तरतर्फ दर्शक बस्ने ‘प्याराफिट’, ‘स्टेयर्स’, ‘सब्टिचुसेन एरिया’, सञ्चार क्षेत्र, ‘चेञ्जिङ रुम’, ‘फिजियोथेरापी रुम’, ‘रेफ्री रुम’ र ‘भिआइपी’ व्यक्तिका लागि विशेष रुम निर्माण गर्ने योजनारहेको छ । ठेकेदारले ढिलासुस्तीका कारण निर्माणको काम लम्बिएको छ ।

रङ्गशालाको हालसम्म छ वटा प्याराफिटमा दुई निर्माणको चरणमा छ भने तीन वटा ‘प्याराफिट’को काम सुरु नै भएको छैन । प्रदेश सरकारले छ हजार पाँच सय दर्शक क्षमता भएको रङ्गशाला निर्माण गर्न लागेको हो । रङ्गशाला निर्माणका लागि टक्सार÷शान्तिदेवी जेभीले ठेक्का पाएको छ ।

समयमै रङ्गशालाको निर्माण सम्पन्न हुन नसक्दा सुन्दर टुँडिखेल कुरुप बनेको स्थानीय होटल व्यवसायी रामचन्द्र नेपालले बताए । उनका अनुसार निर्माणका क्रममा निस्किएको माटोले पानी पर्दा टुँडिखेल हिलाम्मे हुने गरेको छ ।