Dhulikhel Eco Banner new

जडिबुटीको बुढो घर भत्केसँगै सुरु भयो सडक विस्तारको काम, छिट्टै कालोपत्रे हुने (भिडियो सहित)

6.11K
shares

काठमाडौं, ३० भदौ । जडिबुटीमा रहेको बुढो घर केही दिन अघि काठमाडौं महानगरपालिकाले भत्कायो । अदालतले समेत मुआब्जा नदिएर नभत्काउनु भनेको घर महानगरपालिकाले भत्काएसँगै विस्तार हुन नसकेको सडक विस्ताको कार्य सुरु भएको छ ।

घर धनी र सरकार बीचको विवादका कारण सबैतिर सडक विस्तार भइरहेको र घरको छेवमा समेत कालोपत्रे सडक पुगेको भए पनि त्यहाँभन्दा अघि बढ्न सकेको थिएन् । जसका कारण सडक विभागलाई समेत लामो समय देखि सडक विस्तारका लागि समस्या भएको छ । तर महानगरपालिकाले घर भत्काए पछि सडक निर्माणको कार्य सुरु भएको छ ।

साँझ पखको समयमा घर भत्काएको र त्यस पछि सडक निमार्ण भएको स्थानीयको भनाइ छ । अघिल्लो दिन साँझ घर भत्काइएको र बाटो खुल्ला भयो, भोलिपल्ट विहान ग्रावेल हालेर पेल्ने काम भएको जडिबुटीमा भेटिएका टंक बहादुर थापाले जानकारी दिए । काठमाडौं महानगरपालिकाले आइतबार बुढो घरलाई भत्काएको थियो । घरको आडसम्म कालोपत्रे सडक रहेको र घरका कारण अगाडी बढ्न नसकेको सडक अब अघि बढेको थापाको भनाइ छ ।

‘राजनीति संरक्षणका कारण यो घर सडक विभागले पनि भत्काउन सकेको थिएन् बालेन आए पछि भत्कायो,’ उनले भने । घर भत्काएसँगै सडक फराकिलो बनाउने र हिड्डुलका लागि पनि सहज भएको पैदलयात्रीको भनाइ छ । घर भत्काए पछि ठाउँ फराकिलो भएको र अब जाम जडिबुटीको जाम पनि हट्ने जडिबुटीमा सामान्य व्यवसाय गर्दै आएकी रेणुका अधिकारीको भनाइ छ । ‘बालेनले गरेको कामलाई सबैले साथ दिनु पर्छ म पनि दिन्छु, अझै राम्रो काम गर्नु पर्छ,’ उनले भनिन् ।

यो घरको विवाद नमिलेका कारण बर्षौदेखि कोटेश्वर जडिबुटी सडक खण्ड विस्तारको काम रोकिएको थियो । बुढो घर ढेलेसँगै सडक निर्माणको कार्य सुरु भएको छ । भत्काएको ठाउँमा अहिले कच्ची सडक बनेको र कालोपत्रे गर्ने गरी काम भइरहेको सुनेको स्थानीयको भनाइ छ ।

महानगरपालिकाको पहल पछि लामो समय रोकिएको कार्य सुरु भएको र सडक छिट्टै कालोपत्रे समेत हुने सडक डिभिजन कार्यालय काठमाडौंका सुचना अधिकारी इन्जिनियर सुनित केसीले जानकारी दिए । ‘अहिले एक चरणको कार्य सकिएको छ, साथै दायाँ बाँया नालीहरु बनाउने कार्य भइरहेको र छिट्टै कालोपत्रे पनि हुन्छ,’ उनले भने ।

घर धनी र नेपाल सरकारको विवादका कारण २०७०/०७१ देखि सडक विस्तारको कार्य रोकिएको सूचना अधिकारी केसीले बताए ।

भिडियो