Dhulikhel Eco Banner new

एग्री केयर नेपालले आईपीओ ल्याउने तयारी थाल्यो, नेपाल लाइफ क्यापिटलसँग परामर्श सम्झौता

689
shares

काठमाडौं,२९ साउन । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी थालेको छ। कम्पनीले पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन र पूँजी बजारमा प्रवेशको तयारीका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको हो।

शुक्रबार श्रावण २९ गते चितवनको भरतपुर–४ स्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा दुवै कम्पनीबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो। सम्झौतामा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले वनस्पति पोषण, सूक्ष्म पोषक तत्व तथा गुणस्तरीय कृषि सामग्रीबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको थियो। सन् २००९ मा जैविक प्रविधि एकाइ सञ्चालनमा ल्याउँदै कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ समेत विस्तार गरेको थियो।

हाल कम्पनीले बाली संरक्षण, वनस्पति पोषण, मलखाद, माटो सुधारक तथा जैविक कृषि सामग्रीमार्फत किसानलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

किसानलाई आवश्यक कृषि जानकारी तथा प्राविधिक सहयोग उपलब्ध गराउन कम्पनीले विभिन्न तालिम तथा ‘किसान कल सेन्टर’ जस्ता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेडले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेसन तथा शेयर निष्काशन र बिक्री प्रबन्धलगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने अनुमति पाएको छ।

सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण तथा आईपीओ निष्काशनका लागि आवश्यक पर्ने परामर्श सेवा उपलब्ध गराउनेछ। यसअन्तर्गत कम्पनीको पूँजी संरचना पुनर्संरचना, वित्तीय तथा कानुनी अवस्थाको अध्ययन र मूल्यांकन, सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार तथा नियामकीय प्रक्रियामा समन्वयलगायतका काम हुनेछन्।

एग्री केयर नेपालले संस्थागत परामर्शमार्फत आफ्नो व्यवसाय तथा वित्तीय संरचनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।