Dhulikhel Eco Banner new

अर्घाखाँचीमा बाख्रामा पीपीआर सङ्क्रमण

286
shares

काठमाडौं, २९ साउन । अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पीपीआर देखा परेको छ । पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा, वडा नं ५ को असुरकोट तथा वडा नं ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।

अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ । आदेश उल्लङ्घन गरी बाख्रा ओसारपसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ ।

हालसम्म पीपीआरका कारण दुई बाख्रा मरेका छन् । करिब १९ वटा बाख्रामा पीपीआर सङ्क्रमण भएको पाइएको प्रजिअ सुवेदीले बताए । रोग महामारीका रूपमा फैलिन सक्ने जोखिम देखिएपछि प्रशासनले प्रभावित क्षेत्रका बाख्रा ओसारपसारमा रोक लगाउनुका साथै सङ्क्रमित पशुलाई अलग्गै राखेर उपचार तथा व्यवस्थापन गर्न लागिएको छ ।

रोग थप क्षेत्रमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । बाख्रा तथा भेडालाई पिपीआर रोगविरुद्धको खोप अनिवार्य रूपमा लगाउन र आवश्यक परेमा सम्बन्धित स्थानीय तह तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

सङ्क्रमित बाख्राको मासु बेचबिखन नगर्न र नगराउन प्रशासनले निर्देशन दिएको छ । किसानलाई आफ्नो गोठमा रहेका बाख्राको स्वास्थ्य नियमित निगरानी गर्न, बिरामी पशुलाई स्वस्थ पशुबाट अलग राख्न र अस्वाभाविक लक्षण देखिए तत्काल पशु स्वास्थ्यकर्मीलाई खबर गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।