GBIME

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

1.16K
shares

काठमाडौं, १ साउन । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको सयुक्त कारोबार सुरु भएको छ । दुई बीमा कम्पनीले मर्जर पुरा गरेर साउन १ गते आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।

आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको कम्पनीको केन्द्रीय कार्यालय बबरमहलस्थित साविकको हिमालयन जनरल इन्स्योरेन्समा रहनेछ । हिमालयन एभरेष्टको सञ्चालक समितिमा दुबै संस्थाबाट तीन–तीन जनाको प्रतिनिधित्व गराइएको छ । संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हिमालयनलाई नै दिइएको छ ।

जस अनुसार हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ अध्यक्ष र हिमालयनकै विजय बहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी एभरेष्टका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले पाएका छन् ।

मर्जरसँगै नयाँ कम्पनीको कुल शाखा संख्या ७५ पुगेको छ भने आवश्यकता अनुसार नयाँ स्थानमा व्यवसायको सम्भाव्यता हेरी थप शाखा विस्तार गर्ने तथा शाखा मर्ज र स्थानान्तरण गरि व्यवसाय विस्तारलाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ । यी दुई कम्पनी बीच १०० बराबर ८५ को अनुपातमा मर्जर भएको हो ।

मर्जरबाट बनेको कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । मर्जर अघि हिमालयनको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख र एभरेष्टको १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ थियो । बीमा समितिले तोकेको न्युनतम २ अर्ब ५० करोड पूँजी कायम गर्न कम्पनीले स्वापबाट बचेको प्रिमियमको सदुपयोग गर्नेछ । कम्पनीले प्रिमियमका साथै आम्दानीबाट २६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेर चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नेछ ।