GBIME

‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक सार्वजनिक हुँदै

1.13K
shares

काठमाडौं, १ साउन । नेपाल बैंकर्स संघको अध्यक्षमा १ कार्यकाल तथा सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा ८ वर्षको पूर्ण कार्यकाल सम्पन्न गरी हालै सेवा निवृत्त भएका भुवन दहालले लेखेको ‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक आर्थिक वर्ष २०७९/०८० को पहिलो दिनबाट बजारमा आउँदैछ । नबिल बैंक तथा सानिमा बैंकमा ३ दशक भन्दा बढी समय बिताउनुपूर्व दहाल सरकारी कर्मचारी थिए ।

आर्थिक वर्ष २०६९/७० भन्दा ३.९९ प्रतिशत बिन्दुले लगानीको प्रतिफल बढाई सबैभन्दा कान्छो वाणिज्य बैंक सानिमा बैंक, आर्थिक वर्ष २०७७/७८ मा शेयरधनिलाई सबै भन्दाबढी प्रतिफल दिने बैंक बन्न सफल भयो । जबकि सोहि अबधिमा वाणिज्य बैंकहरुको समग्र प्रतिफल दर १०.२१ प्रतिशत बिन्दु भन्दा बढीले घटेको थियो ।

सोहि अवधिमा वाणिज्य बैंकका कर्मचारीहरुको प्रतिब्यक्ति आम्दानी ४९ प्रतिशतले बढ्दा सानिमा बैंकका कर्मचारीको प्रतिब्यक्ति आम्दानी १०८ प्रतिशतले बढ्यो । असार मसान्त २०७० को तुलनामा असार मसान्त २०७८ मा सानिमा बैंकको चल्ती तथा बचत निक्षेपको अंश झण्डै १८ प्रतिशत बिन्दुले बढ्यो जबकि सोहि अवधिमा वाणिज्य बैंकहरुको सो अंश झण्डै १ प्रतिशत बिन्दुले घटेको थियो । सोहि समयमा ब्यक्तिगत निक्षेपको अंश वाणिज्य बैंकहरुमा २.२ प्रतिशत बिन्दुले बढ्दा सानिमा बैंकले २२.२४ प्रतिशत बिन्दुले बढायो । अपवाद बाहेक सानिमा बैंक प्रत्येक वर्षको असार मसान्तमा सबैभन्दा न्यून निस्कृय कर्जा राख्न सफल रह्यो ।

उनको ८ वर्षे कार्यकालमा धेरै शाखा नखोली तथा ठूला मर्जर पनि नगरी सानिमा बैंक सञ्चालन मूनाफाको श्रेणी सुधारमा दोश्रो हुन सफल भयो । यस्ता धेरै अनौठा उपलब्धीहरु दहालको कार्यकालमा सम्भव हुनुका कारणहरु उनको पुस्तकमा उल्लेख छन् । त्यसैगरि दहाल प्रमुख वित्त अधिकृत हुदा आर्थिक वर्ष २०६५÷६६ मा नबिल बैंक सञ्चालन मूनाफामा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई पछि पारी १ नम्बरको ताज पहिरिन सफल भएको थियो ।

पहिलो बिदेशी लगानिको बैंक नबिलको मूख्य बिदेशी लगानीकर्ता ईमिरेट्स बैंक ईण्टरनेशनल लि. दुबईको शेयर नेशनल बैंक लि. बंगलादेश अनि पछि एन.बि. ईण्टरनेशनल लि., आयरल्याण्डमा सार्दा दहाल नबिल बैंकमै कार्यरत थिए ।

नेपाल बैंकर्स संघको अध्यक्ष हुँदा संघीय संसदको अर्थ समिति, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सिबिफिन आदि संस्थासँग कार्य गर्दाका उनका अनौठा अनुभवहरु पनि पुस्तकमा लेखेका छन् ।
किताबमा ७ बटा अध्यायहरु मार्फत निम्न बिषय समेटिएका छन् :
१. २७ वटा वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०६९/७० तथा आर्थिक वर्ष २०७७/७८ को तुलनात्मक वित्तीय कार्य सम्पादन

२. सानिमा बैंकका सफलताका कथाहरुका साथैं अन्य बिबिध कुरा पस्कने क्रममा भि.आई.पि. शेयरधनिसँग सम्बन्धित विषयवस्तु । सानिमा र निम्न बैकहरुको वित्तीय अवस्थाको तुलनात्मक विश्लेशण ।

(क) नेपाल बैंक (ख) राष्ट्रिय वाणिज्य बैंक (ग) कृषि विकास बैंक (घ) एनआईसि एसिया बैंक (ङ) एनएमबि बैंक (च) माछापुच्छ्रे बैंक (छ) नबिल बैंक (ज) स्ट्याण्डर्ड चाटर्ड बैंक ।
३. नबिल बैंक कसरी नाफामा १ नं. भयो तर रेमिट्यान्स बिजिनेसमा सफल हुनसकेन, चन्द्र ढकाल सफल हुनुभयो लगायतका अन्य चाखलाग्दा प्रसंगहरु ।

४. बैंकिंग कसूर तथा सजाय ऐन संशोधन लगायत बैंकर्स संघसंग जोडिएका विभिन्न प्रसंगहरु ।
५. ग्लोबल आई.एम.ई. को उदाहरण सहित मर्जर तथा प्राप्तीमा के गर्नु पर्ने हो भन्ने लगायत बैंकिंग क्षेत्रका विविध बिषयहरु।

६. हाम्रो देशको आर्थिक तथा सामाजिक विकास, राजनितिज्ञ, कर्मचारितन्त्र, जातिय क्षेत्रीय संकिर्णता आदि बिषयहरु ।

७. बिज्ञान शिक्षकबाट खाएको पिटाई, नबिल बैंकमा आफ्नो बढुवा छिटोछिटो हुनुको रहस्य तथा युवा पुस्ताले सफल हुन गर्नुपर्ने विषय र आफू फेरि सीईओ हुन नचाहेको कारण यस पुस्तकमा समेटिएका छन् ।

यस पुस्तकमा उनले बैंकिंग क्षेत्रका हस्तिहरु सत्येन्द्र प्यारा श्रेष्ठ, राजन सिंह भण्डारी, शोभनदेव पन्त, सुरेन्द्र भण्डारी, पर्शुराम कुँवर, श्रवण मास्के, अनिल ज्ञवाली, अनिल केशरी शाह, अनिल उपाध्याय, सुनिल के.सि, ज्ञानेन्द्र ढुंगाना, सचिन जोशी, अशोक राना, राधेश पन्त, बर्षा श्रेष्ठ, सुन्दर कंडेल, तुलसिराम गौतम, कुमार लम्साल, अनुपमा खुञ्जेली, मनोज गोयल, डि.सि. खन्ना, सुरज मेहता, रबिना देशराज श्रेष्ठ, स्व. सुप्रिय गुप्ता, स्व.शम्भु प्रसाद पौडेल, आदि सँग जोडिएका विविध प्रसंगहरु उल्ल्ख गरेका छन् ।

त्यसैगरि मह जोडी, डा. युवराज खतिवडा, बिष्णु पौडेल, जनार्दन शर्मा, बिनोद चौधरी, डा. पुष्प कंडेल, डा. चिरञ्जीवी नेपाल, महा प्रसाद अधिकारी, बम बहादुर मिश्र, शेखर गोल्छा, रेवत बहादुर कार्की, जिवनाथ लामिछाने, सन्दिप लामिछाने आदिसंग जोडिएका रमाईला प्रसंगहरु पनि किताबमा उल्लेख गरिएका छन् । दहालले पुस्तक लेखनबाट प्राप्त हुने सम्पूर्ण पारीश्रमिक सामाजिक संस्थाहरुलाई प्रदान गर्ने निर्णय गरेका छन् ।