Dhulikhel Eco Banner new

सवारी दुर्घटनामा परेका सञ्चारकर्मी दाहाललाई बीमा रकम हस्तान्तरण

14.65K
shares

काठमाडौं, ११ भदौ । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ सहयोग गरेको छ । दुर्घटनामा परेका दाहालका परिवारलाई बीमा बापतको रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले हस्तान्तरण गरेको हुन् ।

रकम हस्तान्तर पछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे । ‘पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो,’ उनले भने ।

बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभएपनि संस्था साथै रहेको अनुभूति गर्नु महत्वपूर्ण रहेको उनले बताए । प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे । पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने राज्यले पत्रकारका समस्यामा राज्यको लगानी नभएको उनको गुनासो थियो । पत्रकारलाई समस्या पर्दा अभिभावक ग्रहण गर्नका लागि राज्य पनि नदेखिएको पोखरेलको भनाइ थियो ।

कार्यक्रममा दुर्घटना पीडित दाहालले आफू दुर्घटना भएपश्चात अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले आवश्यकीय सहयोग गरेको स्मरण गरे । दाहालले भने– ‘हरेक हिसाबबाट सहयोग भएपछि लाग्यो कि, संगठन अपरिहार्य रहेछ ।’ उनले अहिले आफूलाई स्वास्थ्यमा सोचेभन्दा छिटो निको हुँदै गएको समेत जानकारी गराए ।

सो अवसरमा प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको दाबी गरे । ‘हामीले अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरूको दुर्घटना बीमा गरेका छौँ,’ अधिकारीले भने ‘एक साता अघि मात्रै दुर्घटना बापतको डकुमेन्ट बुझाएका थियौँ । अर्का एकजना सञ्चारकर्मी पनि दुर्घटना पर्नुभएकाले उहाँको पनि दुर्घटना बीमा दाबी गरिएको छ ।’

दाहाल गत एक महिना अगाडि सवारी दुर्घटनामा परी घाइते भएका थिए । उनको बिल बापतको रकम एक साता अगाडि मात्रै युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले र सदस्य विवेक विवश रेग्मीले अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा डकुमेन्ट बुझाएका थिए ।