नियामकको निर्देशनलाई चुनौती दिदै रिलायवल लाइफ, बीमा समितिको निर्देशन विपरित हकप्रद जारी गर्ने तयारी
वि.सं.२०७९ जेठ ४ बुधवार १४:५५
shares

काठमाडौं, ४ जेठ । रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले नियामक निकाय बीमा समितिको नीति विपरित हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । बीमा समितिले मर्जरमार्फत पुँजी वृद्धिको योजना ल्याएको छ । तर नियामकको नीतिलाई नै ठाडो चुनौती दिदै रिलायवल लाइफले मर्जर होइन हकप्रदबाट चुक्ता पुँजी बढाउनका लागि साधारणसभाको सूचना नै प्रकाशित गरेको छ ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ । तोकिएको पुँजी पुर्याउनका लागि समितिले कम्पनीहरुलाई एक वर्षको समयसीमा दिएको छ । समितिका अध्यक्ष सूर्य सिलवालले मर्जरबाटै पुँजी पुर्याउन सार्वजनिक फोरमहरुबाट समेत कम्पनीहरुलाई निर्देशन दिइरहेको अवस्थामा रिलायवलले भने हकप्रदको बाटो रोजेको हो ।
कम्पनीले आगामी २५ जेठमा ज्ञानेश्वरको लिसरा ब्यांकेटमा साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा विशेष प्रस्तावको पहिलो नम्बरमा पुँजी वृद्धि र दोस्रो नम्बरमा हकप्रद शेयर जारी गर्ने उल्लेख छ । समितिको निर्देशन विपरित कम्पनीले हकप्रद शेयरबाट पुँजी बढाउने तयारी गरेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुँजी वृद्धिका लागि सबै बीमा कम्पनीहरुले मर्जरलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए । उनले हकप्रद शेयर जारी गर्नका लागि बीमा कम्पनीहरुलाई समितिले अनुमति नदिने समेत उनले प्रष्ट पारेका छन् । यस विषयमा बुझ्न रिलायवल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।















