मासिक १६ हजार रुपैयाँको किस्तामै विद्युतीय सवारी, हेनरी बोल्ट्सले ल्याउँदै दुई नयाँ मोडल
वि.सं.२०८३ साउन २० बुधवार १०:२८
shares

काठमाडौं, २० साउन । नेपालमा विगत पाँच वर्षदेखि हेनरी बोल्ट्स ब्रान्डका विद्युतीय सवारीसाधन बिक्री–वितरण गर्दै आएको कम्पनीले यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दुई नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।
कम्पनीका प्रबन्ध निर्देशक जोफ कपाटीले केटिएम भ्वाइस सँगको कुराकानीमा एक्स्पोमा हेनरी बोल्ट्सको परिमार्जित ‘सी प्रो’ (C Pro) र ९ सिट क्षमताको विद्युतीय यात्रुवाहक भ्यान सार्वजनिक गरिने जानकारी दिए। साथै कम्पनीको लोकप्रिय मोडल ‘एच’ (H) पनि प्रदर्शनमा राखिनेछ।
कपाटीका अनुसार ‘सी प्रो’मा ३५ किलोवाट क्षमताको मोटर, २५ किलोवाट–आवर क्षमताको ब्याट्री तथा २५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध हुनेछ। एक पटक पूर्ण चार्जमा करिब ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने यो मोडललाई करिब ३७ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ भने पूर्ण चार्ज हुन करिब एक घण्टा लाग्ने उनले बताए।
त्यसैगरी कम्पनीले दैनिक तथा व्यावसायिक प्रयोगलाई लक्षित गर्दै ९ सिट क्षमताको विद्युतीय यात्रुवाहक भ्यान पनि सार्वजनिक गर्दैछ। २२ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको उक्त भ्यानले एक पटक पूर्ण चार्जमा करिब २५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कपाटीको भनाइ छ।
कम्पनीले मोडल ‘एच’ को सुरुआती मूल्य १९ लाख ९५ हजार रुपैयाँ तोकेको छ। यसलाई मासिक १६ हजार रुपैयाँदेखि किस्ताबन्दीमा खरिद गर्न सकिने उनले बताए। त्यसैगरी ‘सी प्रो’को सुरुआती मूल्य २२ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यी दुवै मोडलको औपचारिक सार्वजनिक कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्स्पोमै हुनेछ।
एक्स्पोमा सवारी बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट तथा आकर्षक अफर उपलब्ध गराइने कपाटीले जानकारी दिए। साथै ‘एकसाथ’ योजना अन्तर्गत घर निर्माण गर्ने ग्राहकलाई छ महिनासम्म निःशुल्क मासिक किस्ता सुविधा उपलब्ध गराउने अवधारणा पनि ल्याइएको उनले बताए। एक्स्पो सुरु भएपछि सबै अफर सार्वजनिक गरिने उनको भनाइ छ।
कम्पनीले ग्लोबल आईएमई बैंक, नबिल बैंकलगायत प्रमुख बैंकहरूसँग सहकार्य गर्दै आएको छ। ती बैंकमार्फत ग्राहकले सहज किस्ता सुविधामा विद्युतीय सवारी खरिद गर्न सक्नेछन्।
‘सी प्रो’मा एयरब्याग, विद्युतीय स्टेयरिङ, विद्युतीय झ्याललगायत आधुनिक सुविधा उपलब्ध रहेको कपाटीले बताए। यात्रुवाहक भ्यानमा पनि आवश्यक सुरक्षा प्रणाली तथा आधारभूत सुविधाहरू समावेश गरिएको उनले जानकारी दिए।
बिक्रीपछिको सेवालाई कम्पनीले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले काठमाडौंको महाराजगञ्ज–चुन्देवीस्थित आफ्नै सेवा केन्द्रबाट परीक्षण, मर्मत, स्पेयर पार्ट्स प्रतिस्थापन तथा बिक्रीपछिका सम्पूर्ण प्राविधिक सेवा प्रदान गरिँदै आएको बताए।
नेपालमा विद्युतीय सवारीको बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै कपाटीले गत वर्ष कुल सवारी आयातमध्ये करिब ७३ प्रतिशत हिस्सा विद्युतीय सवारीको रहेको र यस वर्ष यो अनुपात करिब ८० प्रतिशत पुग्ने अनुमान रहेको बताए।
पहिले विद्युतीय सवारी लामो दूरीका लागि उपयुक्त हुँदैन भन्ने धारणा रहे पनि अहिले देशभर चार्जिङ पूर्वाधार विस्तार, चार्जिङ केन्द्रको वृद्धि तथा नयाँ प्रविधिका कारण ग्राहकको विश्वास बढ्दै गएको उनले बताए।
विद्युतीय सवारीको सञ्चालन खर्च पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको तुलनामा निकै कम हुने उल्लेख गर्दै उनले करिब १ हजार ५ सय रुपैयाँ बराबरको विद्युत् खर्चमा एक महिनासम्म सवारी सञ्चालन गर्न सकिने दाबी गरे। मर्मतसम्भार खर्च कम लाग्ने, लामो दूरीको यात्रा किफायती हुने तथा पुनः बिक्री गर्दा पनि राम्रो मूल्य पाइने भएकाले पहिलो पटक सवारी खरिद गर्ने ग्राहकका लागि विद्युतीय सवारी उपयुक्त विकल्प हुने उनको भनाइ छ।
कम्पनी विगत केही वर्षदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नियमित रूपमा सहभागी हुँदै आएको छ। गत वर्ष उत्साहजनक बुकिङ भएको उल्लेख गर्दै कपाटीले यस वर्ष अझ राम्रो व्यापार हुने अपेक्षा व्यक्त गरे।
यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। एक्स्पोमा सहभागी भई उपलब्ध विशेष छुट, अफर तथा वित्तीय सुविधाको लाभ लिन कपाटीले ग्राहकलाई आग्रह गरेका छन्।
















