Dhulikhel Eco Banner new

सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

3.3K
shares

काठमाडौं, ५ चैत । डिजिटल प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षामा महिलाहरूको नेतृत्व अपरिहार्य बन्दै गएको सन्दर्भमा महिला सशक्तीकरणमा केन्द्रित एक विशेष कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। क्यान महासंघको सफ्टवेयर तथा सेवा समितिले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो।

सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा आयोजित कार्यक्रममा साइबर सुरक्षा र महिलाको समग्र सुरक्षाका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाहरूका लागि आत्मरक्षा तालिम पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले साइबर सुरक्षामा महिला नेतृत्व विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रममा टेक्सस कलेजका आईटी निर्देशक डा। सुमन थपलियाले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसैगरी, क्यान महासंघकी अध्यक्ष सुनायना घिमिरे पाण्डे र महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता वृद्धि गर्नुको रणनीतिक महत्त्वबारे आफ्ना धारणा व्यक्त गर्नुभयो।

सफ्टवेयर तथा सेवा समितिकी सभापति शीला कार्की काँसकारले सूचना प्रविधिको विकासमा महिलाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै कार्यक्रमको समापन गर्नुभयो।

उक्त कार्यक्रमले साइबर सुरक्षामा महिलाहरूको सहभागिता वृद्धि गर्दै नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।