अब निजी क्षेत्रले घुस खुवाउन, लाइन बस्न र थुनिनु पर्दैनः स्वर्णिम वाग्ले
वि.सं.२०८२ चैत १६ सोमवार १६:१६
shares

काठमाडौं, १६ चैत । स्वर्णिम वाग्ले ले निजी क्षेत्रलाई सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ का प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामका लागि लाइन बस्न तथा अनावश्यक रूपमा थुनिनु नपर्ने बताएका हुन्। उनले निजी क्षेत्रलाई लगानी र रोजगारी विस्तारमा केन्द्रित हुन आग्रह गर्दै भने, “लगानी बढाउनुस्, रोजगारी बढाउनुस्, देश बनाऔँ।”
मन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणका लागि दृढ भएर आएको स्पष्ट पार्दै भने, “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न। म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।”
उनका अनुसार सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छ। “निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूका सहयात्री हौँ,” उनले भने, “अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन।” अर्थमन्त्रीले आर्थिक अनियमितता सम्बन्धी नीतिमा पनि परिवर्तन गर्ने संकेत दिएका छन्। उनले भने, “आर्थिक बेइमानीमा अब हामी आर्थिक जरिवानामा जानेछौँ, उद्योगी–व्यापारी थुनिनु पर्दैन।”
तर उनले निजी क्षेत्रलाई पनि इमान्दारी अपनाउन आग्रह गर्दै चेतावनी दिए, “राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नगर्ला भन्ने अपेक्षा छ। नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम हुनेछौँ।”



















