Dhulikhel Eco Banner new

काठमाडौं महानगरपालिकाले दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनमा ल्याउने

3.74K
shares

काठमाडौं, १९ चैत । काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवालाई अझ प्रभावकारी र द्रुत बनाउन दुई पाङ्ग्रे (मोटरसाइकल) एम्बुलेन्स सञ्चालन गर्ने तयारी थालेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले बढ्दो सवारी चापका कारण एम्बुलेन्स समयमै घटनास्थलमा पुग्न नसक्ने समस्या समाधान गर्न यस्तो अवधारणा अघि सारेको हो।

सहरमा हुने ट्राफिक जामका कारण बिरामीको ज्यान जोखिममा पर्ने अवस्थालाई ध्यानमा राख्दै मोटरसाइकलमार्फत स्वास्थ्यकर्मीलाई तत्काल घटनास्थलमा पठाई प्राथमिक उपचार सुरु गर्ने लक्ष्य राखिएको छ। कार्यवाहक प्रमुख डंगोलले जटिल स्वास्थ्य अवस्था भएका स्थानमा स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो पुर्‍याउन स्वास्थ्य विभागलाई निर्देशन दिएकी छन्।

उनले प्रविधिमैत्री सेवा विस्तारमा जोड दिँदै बिरामीका आफन्तले मोबाइलबाटै एम्बुलेन्सको अवस्थिति र त्यसमा रहेका स्वास्थ्यकर्मीको विवरण हेर्न सक्ने प्रणाली विकास गर्नुपर्ने बताइन्। आपतकालीन अवस्थामा प्रि(हस्पिटल मेडिकल सेवालाई वैज्ञानिक र व्यावहारिक बनाउन आवश्यक अध्ययन गरी प्रभावकारी संयन्त्र निर्माण गरिने पनि उनले स्पष्ट पारिन्।

काठमाडौं महानगरपालिकाले २०७६ वैशाखदेखि नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। हालसम्म महानगरले १३ करोड ४४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ भने ८४ हजार ४ सय ८९ जना बिरामीले प्रत्यक्ष सेवा पाएका छन्। औसतमा प्रति बिरामी १ हजार ६ सय ५ रुपैयाँ खर्च हुने गरेको छ, जसको भार महानगरले नै व्यहोर्दै आएको छ।

उक्त सहकार्यपछि ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै सुरक्षित रूपमा बच्चा जन्माएका छन् भने कोभिड–१९ महामारीका बेला २३ हजार ५ सय जनाले सेवा लिएका थिए। हाल काठमाडौं महानगरभित्र ७ वटा तथा कीर्तिपुर, सातदोबाटो र सल्लाघारीमा एक(एक गरी सीमित संख्यामा एम्बुलेन्स सञ्चालनमा छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार ८ मिनेटभित्र बिरामीसम्म पुग्न उपत्यकामा कम्तीमा ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने अध्ययनले देखाएको छ।

बैठकमा सहभागी स्वास्थ्य तथा वित्त विभागका अधिकारीहरूले सेवाको गुणस्तर सुधार गर्न र लागत घटाउन उपत्यकाका अन्य स्थानीय तहसँग सहकार्य आवश्यक रहेको औँल्याएका छन्। एम्बुलेन्स सेवा प्रदायकहरूले पनि बढ्दो सवारी चापलाई ध्यानमा राख्दै नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिएका छन्।