काठमाडौं, १९ चैत । नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढ्दै ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्मको तथ्याङ्कले यस्तो देखाएको हो।
चालु आर्थिक वर्षको असार मसान्तको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको छ। गत असारमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो। अमेरिकी डलरमा हेर्दा पनि सञ्चितिमा उल्लेख्य वृद्धि देखिएको छ। २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति फागुन मसान्तमा १८.३ प्रतिशतले बढेर २३ अर्ब ८ करोड डलर पुगेको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको हिस्सा २५.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ४४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ। फागुन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार हालको सञ्चिति देशको आयात धान्ने क्षमताका हिसाबले पर्याप्त रहेको छ। ८ महिनाको आयातका आधारमा हेर्दा यो सञ्चितिले २१.४ महिनासम्म वस्तु आयात र १८.५ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ।
त्यस्तै, विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५५.९ प्रतिशत, कुल आयातसँग १५३.८ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४०.८ प्रतिशत रहेको छ।समग्रमा, बढ्दो रेमिट्यान्स, वैदेशिक आम्दानी र सुधारिएको बाह्य क्षेत्रका कारण नेपालको विदेशी मुद्रा सञ्चिति मजबुत बन्दै गएको संकेत देखिएको छ।