रायोको सागमा भेटियो विषादी
वि.सं.२०८३ वैशाख २५ शुक्रवार ११:१३
shares

काठमाडौं, २५ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणमा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको छ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ’, कालीमाटीले मङ्गलवार १३ वटा तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो। परीक्षणका क्रममा सुनिता श्रेष्ठले बजारमा ल्याएको रायोको सागमा अर्गानोफोस्फेट समूहको विषादीको रोकावट प्रतिशत ५५.७२ रहेको पाइएको प्रयोगशालाले जनाएको छ।
सरकारी मापदण्डअनुसार विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी तथा फलफूल उपभोगका लागि अयोग्य मानिन्छन्। सोही आधारमा उक्त रायोको साग तत्काल विसर्जन गर्न निर्देशन दिइएको छ।
प्रयोगशालाका अनुसार अन्य परीक्षण गरिएका तरकारी तथा फलफूल भने उपभोगका लागि सुरक्षित पाइएको छ। परीक्षणमा सुनसरीको खरबुजा, भारतबाट आयात गरिएको मेवा, नवलपरासीको खरबुजा, चीनको स्याउ, धादिङको तितो करेला, मकवानपुरको बन्दागोभी, नुवाकोटको गोलभेँडा र खुर्सानी, काठमाडौंको काँक्रो, चितवनको भान्टा, काभ्रेको भेँडे खुर्सानी तथा दोलखाको रायो साग समावेश थिए। ती सबैमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम रहेको प्रयोगशालाले जनाएको छ।
सरकारको प्रावधानअनुसार विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राखेर मात्र प्रयोग गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने व्यवस्था छ।















