Dhulikhel Eco Banner new

भोटेकोशी बाढी प्रभावितका लागि एनआईसी एशिया बैंकले २ करोड २१ लाख सहयोग

247
shares

काठमाडौं, १२ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको हो।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा भदौ ११ गते नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ।