Dhulikhel Eco Banner new

अहिलेको सरकार सिंह सुतेझैँ सुतेको छ : सांसद बस्नेत

8.4K
shares

काठमाडौं, ७ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले भक्तपुरको विकासका लागि सधै लागि पर्ने बताएका छन् । पूर्व उद्योग मन्त्री समेत रहेका बस्नेतले शनिबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ मा रहेको सहयोगी निलबाराही टोल सुधार समाजको सातौँ वार्षिक साधारण सभामा बोल्दै जिल्लाको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएका हुन् ।

जिल्लाको विकासका लागि कुनै पनि आरोह अवरोहको बीचमा पनि जनताको बीचमा रहेर काम गर्ने उनको भनाइ छ । जनताका सुख दु:खमा सधै साथमा रहने बताएका बस्नेतले अहिलेको सरकार जंगलमा सिंह सुतेझैँ सुतेको टिप्पणी गरे ।

‘अहिलेको सरकार जंगलमा सिंह सुतेजस्तै सुतेको छ, दिन दुई गुणा रात दश गुणाले महँगी बढ्दा समेत देउवा सरकारलाई कुनै चासो छैन्, सरकार कसरी टिकाउने भन्ने विषमा मात्रै अहिलेको सरकारको ध्यान केन्द्रित रहेको छ,’ उनले भने ।

अहिले सरकार भए नभएको कुनै महसुसनै नभएको उनको भनाइ छ । यसैको परिणाम स्वरुप भक्तपुरको बजेट सरकारले कटौति गरेको उनको आरोप छ । यसबाट प्रस्ट रुपमा सरकार विकास विरोधी भएको भान हुने बस्नेतले बताए ।

‘कुनै पनि हालतमा भक्तपुरका जनताका बीचमा वजेटको कमी हुन दिन्न, आफू प्रतिवद्ध रहि रहने छु,’ बस्नेतले भने । साथै मध्यपुर नगरपालिका वडा नं. ८ नयाँबस्तीमा रहेका हरेक खालका समस्यालाई समाधान गर्नका लागि पनि आफू तयार रहेको उनको भनाइ छ । यसका लागि व्यक्तिगत रुपमा पनि आफू लागि परेको उनले बताए । टोल भित्रका प्रमुख समस्या ढल, बाटोघाटो र यहाँको स्थानीयका लागि सानै भएपनि खेल मैदानका लागि आफूले सांसद कोषबाट भएपनि केही थोरै बजेटको व्यवस्थापन गर्ने कुरा बस्नेत जानकारी दिए ।

कार्यक्रममा समाजका अध्यक्ष तथा पत्रकार पुस्कर बस्नेतले यस टोलभित्र रहेका केही अधुरो कामहरुलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सबै दलसँग समन्वय गरेर टोल विभत्रका समस्या समाधान गर्ने उनको भनाइ छ ।

उक्त कार्यक्रममा (नेकपा एमाले)का जिल्ला कमिटी सदस्य शैलेन्द्र श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ का अध्यक्ष रामचन्द्र जयना, युवा उद्यमी तथा समाजसेवी भीम गिरी, युवा उद्यमी तथा सहकारीकर्मी बाबुराम थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिव बस्नेत, समाजका निर्वतमान अध्यक्ष ठेलुमान राईलगायतले शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन समाजका सचिव जान्दबी प्रसाद दाहालले गरेका थिए । उक्त सभाले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको थियो ।