मदिरा आयात प्रतिबन्धले राजश्व गुम्छ : मदिरा पैठारी संघ
वि.सं.२०७९ साउन १० मंगलवार १५:०३
shares

काठमाडौं, १० साउन । मदिरा आयातमा लगाएको प्रतिबन्धले राज्यलाई नै नोक्सानी भइरहेको मदिरा पैठारी संघले बताएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर संघले राज्यले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै आयात प्रतिबन्ध गर्ने निर्णय गलत भएको बताएका हो ।
संघले यसबाट आतिथ्य सत्कार उद्योगमा नकारात्मक असर परेको जिकिर गरेको छ । संघका अनुसार मर्यादित मदिराजन्य पदार्थमा वार्षिक करिव १ करोड २० लाख अमेरिकी डलर मात्र खपत हुन्छ । यो भनेको करिव १ अर्ब ५० करोड रुपैयाँमात्र हो । बजारमा मदिरा उपलब्धताको कमीले होटल व्यवसाय नै नकारात्मक प्रभाव पर्न थालेको संघले जनाएको छ । यस तर्फ सरकाले ध्यान दिनु पर्ने संघको माग छ ।
सरकारले यही साउन १ देखि लागू हुने गरी महँगा सवारी साधन, मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा ४५ दिनका लागि प्रतिबन्ध थप गरेको थियो । सरकारले मदिरा आयातबाट वार्षिक करिव ३ अर्ब ३० करोड राजश्व प्राप्त गर्दै आएकामा यो रोकले राजश्वमा समेत नकारात्मक असर पर्ने संघको भनाइ छ ।
संघको तथ्यांक अनुसार विदेशी मदिरा औसत प्रतिलिटर १५ अमेरिकी डलरमा नेपाल भित्रन्छ । यसको खपतबाट करिव १२० अमेरिकी डलर पुग्ने भएकाले मदिराबाटै विदेशी मुद्रा आर्जन गर्न सहयोग पुग्ने संघको दाबी छ ।



















