खादा र मालामा नभुल्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
वि.सं.२०७९ चैत २१ मंगलवार १०:५५
shares

काठमाडौं, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र चौतर्फी संकटमा रहेको बताउँदै निराशावादी निष्क्रियतालाई सरकारमा कुनै ठाउँ नभएको बताएका छन् ।
सिंहदरवारस्थित सोमवार बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीहरुलाई निर्देशन दिने क्रममा उनले तदर्थ ढंगले सरकार चलाएर परिणाम दिन नसकिने पनि बताए । उनले मन्त्रीलाई खादा र मालामा भुल्ने समय नभएको समेत बैठकमा सहभागि मन्त्रीलाई निर्देशन दिएका छन् ।
उनले भने,‘राष्ट्र चौतर्फी संकटमा छ । अब, तदर्थ ढंगले सरकार चलाएर हामीले परिणाम दिने र जनताको विश्वास जित्ने अवस्था छैन । खादा–मालामा भुल्ने समय हामीसँग छैन । सम्भव छैन भन्ने निराशावादी निष्क्रियतालाई सरकारमा कुनै ठाउँ नहोस् ।’
बैठकमा उनले जनताका लागि परिवर्तनका काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । उनले आफ्नो भूमिकामाथि न्याय गर्दै राष्ट्रले दिएको परीक्षामा उत्तीर्ण भएपश्चात मात्र मन्त्री बधाईको पात्र बन्ने बताए ।

















