Dhulikhel Eco Banner new

लम्पी स्किनले लियो २७ हजार चौपायाको प्राण, रोग देशभर फैलँदै

4.85K
shares

काठमाडौं, २८ असार । पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकभरि नै फैलिएको छ । २०७७ साल साउन २२ गते मोरङको सुन्दर हरैंचा नगरपालिकामा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । तर, अहिलेसम्म देशका ७६ जिल्लामा लाग्ने लम्पी स्किन रोग फैलिएको पशु सेवा विभागले जनाएको हो ।

लामखुट्टे, झिँगा, किर्नाको टोकाइबाट पशु चौपायामा लाग्ने यो रोगका कारण गाईभैसीका खुट्टा सुनिने, जीउ भरी फोका आउने, कानमा गिर्खा देखिने जस्ता लक्षणहरू देखिने गरेका छन् । पशु सेवा विभागको एक तथ्याङ्कअनुसार असार २५ सम्म ७ लाख ६४ हजार बढी चौपायामा रोग देखा परेको छ । झन्डै पाँच लाख निको भए पनि २७ हजार मरेका छन् भने साढे दुई लाखमा अझै रोग सक्रिय रूपमा रहेको जनाएको छ ।

लम्पी स्किनको निदानका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको जनाउँदै विभागले २ लाख २२ हजार खोप लगाइएको पशु सेवा विभागले जनाएको छ ।तर, किसानहरू भने रोग नियन्त्रणमा आउन नसकेको भन्दै आन्दोलित भएका छन् ।

समयमा पशु चौपायालाई खोपको व्यवस्था गर्नका साथै त्यसबाट प्रभावित किसानलाई उचित राहतको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन् । राष्ट्रिय किसान सञ्जालको अगुवाइमा ललितपुर हरिहरभवनस्थित विभाग परिसरमा बुधवार १ घण्टा धर्ना दिएका छन् । आफ्ना मागहरूको सुनुवाइ नभए आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।