Dhulikhel Eco Banner new

यस पटकको आर्थिक संकट मेरो जीवनकै पहिलो : अनिल बज्राचार्य

10.62K
shares

काठमाडौं, २९ असोज । बिगतका वर्षमा फूलपाती आउनु भन्दा ५/७ दिन अघि अर्डर लिनका लागि निकै विचार गर्नुपर्थ्याे । कतिपय ग्राहकलाई त भ्याइदैन भन्दै फर्काएकै अनुभव छ डोरमेयल सटिङ सुटिङका सञ्चालक अनिल बज्राचार्यसँग । अहिले त्यस्तो कुनै चाप छैन । आज अर्डर दिनेले भोलि नै पाउँछ । ‘दिनमा एक दुई जना पनि ग्राहक आउन मुस्किल छ । आज लिएको अर्डर भोलि नै डेलिभर दिने अवस्था छ ।’ २८ वर्षदेखी सटिङ सुटिङ बिजनेस सुरु गरेको बज्राचार्यले व्यवसायिक जीवनमा पहिलो पटक यस किसिमको संकटको सामना गरेको बताए । ‘मैले थाहा पाएदेखि पहिलो पटक हो यस किसिमको संकट यसअघि कहिल्यै यस्तो भएको थिएन ।’ बज्राचार्यले भने ।

उनको बुझाईमा लुगा कपडा पनि खाद्यान्न जस्तै हो । दैनिक जीवनमा नभई नहुने । तिज, दशैं, तिहार जस्ता पर्वमा मान्छेहरुले लुगाकपडामा विशेष खर्च गर्थे । यसपाली पुरानै लुगा लगाएर दशैं मानेको अनुभव गरेका छन् । ‘इन्द्रजात्रादेखी नै हाम्रोमा व्यापारको चाप बढथ्यो बिगतका वर्षमा । यसपाली कुनै पनि पर्वमा उपभोक्ताको चाप भएन ।’

कामदारहरु गाउँ फर्किए

सटिङ सुटिङमा तलबि भन्दा पनि ठेक्कामा काम गराउने चलन हुन्छ । बिगतका वर्षमा रातभर दिन भर काम गर्नेहरु यसपाली दशैं नआउदै गाउँ फर्किसकेका छन् । ‘काम नभएकै कारण हामीसँग काम गर्नेहरु मध्ये धेरै जसो गाउँ फर्किसकेका छन् ।’ आधा भन्दा बढी व्यापार घटेको कुरा गरे ।

एकातिर व्यापार घटेको छ अर्को तिर मुल्य र कर बढेको बढ्यै छ । सटिङ सुटिङका लागि आवश्यक कपडा जहाँबाट ल्याउने हो त्यही मुल्य बढेको छ भने भन्सार दर उस्तै बढेको छ । काठमाडौं महानगरपालिकाले साइनबोर्डको समेत कर तोकेपछि वर्षमा ३० हजार बढी बोर्ड कर तिर्नुपरेको कुरा गरे ‘महानगरपालिकाले बोर्डको स्क्वायरफिटको एक हजार तोकेको छ । हाम्रो जस्तो पसलमा सानो बोर्ड राखेर हुन्न वर्षमा ३० हजार बढी बोर्डकै पैसा तिनुपर्छ ।’ व्यवसाय कर पनि बिगतको तुलनामा बढी भएको कुरा गरे ।

ब्याजदर घट्दैमा कारोबार बढ्दैन

कतिपय व्यवसायी बैंकको ब्याजदर महंगो भएकाले घटाउनु पर्ने र त्यसको प्रभाव सकारात्मक पर्नेमा आशावादी छन् । तर, बज्राचार्य ब्याजदर घटदैमा बजारमा माहोल आउँछ भन्नेमा आशावादी छैनन् ‘बैंकको ब्याजदर पनि एउटा कारण त होला । तर, व्याजदर घटदैमा माहोल आउदैन ।’ उनले भने । राजनीतिक अस्थिरता र विश्वव्यापी मन्दिको असर नेपालमा पनि परेको उनको बुझाई छ ।

युवा पलायन अर्को कारण हो भन्ने लाग्छ उनलाई । नयाँ नयाँ लुगाप्रति युवा पुस्ताले विषेश चासो राख्छन् । पछिल्लो समय युवा पुस्ता बैदेशिक रोजगारीमा गएकाले व्यवसायमा संकट आएको अनुभव गरेका छन् ‘युवा पुस्ता न नभएपछि कसले किन्ने हाम्रो कपडा ?’ उल्टै प्रश्न गरे ।