गैरआवासीय नागरिक आचार्य र केसीले पाए नेपाली नागरिकता
वि.सं.२०८० असोज ३० मंगलवार ११:५५
shares

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष र उपाध्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका छन् ।
मंगलबार बिहान सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्य र उपाध्यक्ष डा.बद्री केसीलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
आचार्य र केसीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्दै प्रधामन्त्री प्रचण्डले देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने बताए ।
उनले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको पनि स्मरण गरे ।
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो । संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ ।
गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुवा, हजुरबुवा–हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
विगतमा नेपाली नागरिकता लिएको गैर आवासिय नेपाली भए पहिलाको नागरिकता त्याग गरेको प्रमाण आवश्यक पर्ने व्यस्था ऐनमा गरिएको छ ।
















