Dhulikhel Eco Banner new

वाणिज्य विभागद्वारा २ उद्योगलाई जरिबाना, ११ लाई स्पष्टीकरणको निर्देशन

2.26K
shares

काठमाडौं, १८ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन अन्तर्गत अनियमितता भेटिएपछि दुई उद्योग तथा फर्मलाई कुल १ लाख २० हजार रुपैयाँ जरिबाना गरेको छ।

बुधवार गरिएको नियमित अनुगमनका क्रममा विभागले ११ वटा उद्योग तथा फर्मको निरीक्षण गर्दा काठमाडौं महानगरपालिका–२७ स्थित सन इन्टरनेसनल इन्कर्पोरेट प्रालि र ललितपुर महानगरपालिका–१३ स्थित नवीना सप्लायर्स मा अनियमितता फेला परेको जनाएको छ।

सन इन्टरनेसनल इन्कर्पोरेट प्रालि ले डेरी उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि १ लाख रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।

त्यस्तै, नवीना सप्लायर्स ले निरीक्षणका क्रममा आवश्यक सहयोग नगरेको भन्दै २० हजार रुपैयाँ जरिबाना गरिएको हो।

विभागले अनुगमनमा परेका अन्य ११ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

उपभोक्ता हित संरक्षणका लागि अनुगमनलाई थप कडाइका साथ अगाडि बढाइने विभागले जनाएको छ।