Dhulikhel Eco Banner new

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

7.09K
shares

काठमाडौं, ११ पुस । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओमध्ये ५७ हजार ७९८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेको छ भने १ लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्रि–अलोटमेन्ट गरिएको छ। त्यसैगरी ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरिएको हो।

सर्वसाधारण लगानीकर्ताले यो आईपीओमा कम्तीमा ५० कित्ता र बढीमा २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ।

बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कट–अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सो मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ८२०।८० रुपैयाँ कायम भएको छ। यसअनुसार न्यूनतम ५० कित्ताका लागि आवेदन दिन कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ।

कम्पनीको शेयर निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट तथा ‘मेरो शेयर’ एप प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।