श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको स्पष्टोक्ति
वि.सं.२०८२ पुस १४ सोमवार १७:११
shares

काठमाडौं, १४ पुस । जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनसँगको बोनस वितरण विषयमा विवाद उत्पन्न भएकोमा गम्भीर ध्यानाकर्षण गरेको छ। उद्योग व्यवस्थापनका अनुसार, पुस ८ गते युनियनले गरेको पत्रकार सम्मेलनमा उद्योगको आन्तरिक विषयवस्तु सार्वजनिक गरिएको र मनगढन्ते दाबी गरिएको उल्लेख गरिएको छ।
उद्योगले विज्ञप्तिमार्फत युनियनका पदाधिकारीहरुले प्रचलित बोनस ऐन र नियम अनुसार नबुझी मनोमानि ढंगले बोनस रकम माग गरेको, मागअनुसार रकम नपाएमा व्यवस्थापनका व्यक्तिहरूलाई दबाब दिएको र उद्योग परिसरमा असहज वातावरण सिर्जना गरेको बताएका छन्। उद्योगले यो किसिमको कार्य कानूनी र व्यवहारिक रुपमा असह्य भएको जनाएको छ।
उद्योग व्यवस्थापनले बोनस वितरण विवाद समाधान गर्न श्रम कार्यालय बीरगंज, पर्सालाई समेत अनुरोध गरेको थियो। तर बोनस ऐन विपरित गैरकानुनी रकम माग भएपछि उद्योगले न्यायिक निकासका लागि अदालतको शरण लिनुपरेको छ। अदालतबाट विवाद निरुपण भइसकेको भएपनि, युनियनले पुनः बोनसको बहानामा कारखाना बन्द गर्ने धम्की, पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत दबाब दिने कार्य जारी राखेको उद्योगको भनाइ छ।
उद्योग व्यवस्थापनले यसका बावजुद पनि प्रचलित ऐन, नियम बमोजिम कर्मचारी र श्रमिकहरुलाई बोनस वितरण गर्न तयार रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा उद्योगले युनियनका पदाधिकारीहरूले अन्य उद्योगहरूमा देखाएको दुव्र्यवहारको उदाहरण समेत उल्लेख गर्दै, यस उद्योगमा पनि त्यस्तै व्यवहार गर्न खोजिएको आरोप लगाएको छ।
जगदम्बा स्टील्सले आफ्नो पक्षमा बोनस ऐन, २०३० बमोजिम नियमानुसार बोनस वितरण गर्न तयार रहेको जानकारी दिँदै विवाद समाधानका लागि सहकार्यको आह्वान गरेको छ।

















