समानुपातिक सूचीबाट सचिन ढकालले फिर्ता लिए उम्मेदवारी
वि.सं.२०८२ पुस १९ शनिवार १२:४८
shares

काठमाडौं, १९ पुस । युवा उद्यमी तथा एफसी चितवनका अध्यक्ष सचिन ढकालले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत निर्णयका आधारमा उम्मेदवारी नलिने जानकारी दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई समानुपातिकतर्फ सिफारिस गरेपछि सार्वजनिक रुपमा आलोचना सुरु भएको थियो । त्यसपछि ढकालले संविधानले परिकल्पना गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्मलाई सम्मान गर्दै सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् ।
“समानुपातिक निर्वाचन प्रणालीको भावना र मान्यतालाई आत्मसात गर्दै यस पटक व्यक्तिगत कारणले सूचीबाट बाहिरिने निर्णय गरेको छु,” ढकालले उल्लेख गरेका छन् ।
समानुपातिक सूचीमा नाम समावेश गरेकोमा उनले पार्टी नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेका छन् । उद्योगपति चन्द्र ढकालका छोरा ढकाल व्यवसायिक क्षेत्रमा सक्रिय युवा उद्यमीका रूपमा परिचित छन् ।
उनको नाम फिर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार सूचीमा पुनः समायोजन प्रक्रिया अघि बढ्ने देखिएको छ ।















