एनआइसी एशिया इटहरी शाखामा ऋणीले गरे आत्महत्या प्रयास
वि.सं.२०८२ पुस २१ सोमवार १५:५२
shares

काठमाडौं, २१ पुस । एनआईसी एशिया बैंकको इटहरी शाखामा सोमबार एक जना ऋणीले आत्महत्याको प्रयास गरेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुबास हमालका अनुसार ती व्यक्तिले बैंक परिसरमा ज्वलनशील पदार्थ छर्कने प्रयास गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको र प्रहरी पुग्ने क्रममा ती व्यक्ति त्यहाँबाट भाग्ने कोशीस गरेका हमालले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक हमालका अनुसार हालसम्म बैंकतर्फबाट औपचारिक उजुरी भने प्राप्त भएको छैन। “घटनाको प्रयास भइरहेको बेला प्रहरी पुगेपछि ती व्यक्ति भाग्ने कोशिस गरेका थिए,” उनले भने ।
एनआईसी एशिया बैंकका प्रमुख सूचना अधिकारी जयेन्द्र रावलले घटनाको पुष्टि गर्दै ती व्यक्ति बैंकका ऋणी रहेको बताए। उनका अनुसार ती व्यक्ति पूर्वयोजना अनुसार बैंक पुगेका थिए र उनीसँग केही क्यामराम्यानसमेत थिए।
रावलका अनुसार उक्त घटनाको कारण बैंककै अर्का एक ऋणीसँग भएको लेनदेन विवाद रहेको प्रारम्भिक बुझाइ छ। उनले ती व्यक्ति आवश्यक प्रक्रिया पूरा गरी प्रहरी कार्यालयबाट छुटिसकेको पनि जानकारी दिए।



















