Dhulikhel Eco Banner new

सुपर खुदी हाइड्रोपावरको आईपीओ आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

4.91K
shares

 

काठमाडौं, २२ पुस । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते अनुमति पाएको हो। कुल निष्कासित शेयरमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभाविततर्फ छुट्याइएको शेयरमध्ये ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. २ र ३ (साविक घनपोखरा गाविसका वडा नं. १, ५, ६, ७ र ८ तथा साविक खुदी गाविसका वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि राखिएको छ। बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ अन्तर्गतका (साविक घनपोखरा, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले र सिम्पानी गाविसका विभिन्न वडाहरू) स्थानीय बासिन्दाका लागि निर्धारण गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आयोजना प्रभावित स्थानीयले माघ ६ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा मागभन्दा कम आवेदन परेमा आवेदन अवधि थपिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित स्थानीयले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।