Dhulikhel Eco Banner new

‘बैंकका कर्मचारी असुरक्षित हुँदा बैंकिङ प्रणाली नै जोखिममा पर्छ’

33.88K
shares

काठमाडौं, २५ पुस । नेपाल वित्तीय संस्था संघको अध्यक्ष सुनिल पन्तले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिट र दुर्व्यवहारका घटना बढ्दै गएको बताएका छन्। केटिएम भ्वाइसले सुरु गरेको ‘फाइनान्स कनेक्ट’ सिरिजमा कुरा गर्दै अध्यक्ष पन्तले यस्तो बताएका हुन् ।

अध्यक्ष पन्तका अनुसार बैंकका कर्मचारी असुरक्षित बन्दै गइरहेका छन् भने यसले समग्र बैंकिङ प्रणालीमा नकारात्मक असर पारिरहेको छ। ‘बैंकका कर्मचारीहरुमाथि कुटपिट र दुव्यवहार बढ्दै गएको छ’ उनले भने ‘यस्ता घटनाले बैंकका कर्मचारीहरु असुरक्षित बन्दै गएका छन् भने यसले बैंकिङ प्रणाली नकारात्मक असर परेको छ’

उनले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न नीति–नियमहरू निर्माणको चरणमा रहेको पनि बताए। बैंकका कर्मचारी कुटपिट तथा दुर्व्यवहारमा परेका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित चारवटै एशोसिएसनबीच यस विषयमा संयुक्त बैठक हुने तयारी भइरहेको जानकारी दिए।

बैठकपछि कर्मचारी सुरक्षा, कानुनी व्यवस्था तथा नीतिगत सुधारका विषयमा ठोस सुझावहरू तयार पारेर नेपाल राष्ट्र बैंकलाई पेश गर्ने अध्यक्ष पन्तले बताए। उनले कर्मचारीको सुरक्षा सुनिश्चित नगरेसम्म बैंकिङ प्रणाली थप जोखिममा पर्ने भन्दै सरोकारवाला निकायलाई समयमै कदम चाल्न आग्रह गरे।

उनले आफू नेपाल उद्योग वाणिज्य महासंघका उम्मेद्धार नभई मतदातामात्र रहेको उल्लेख गर्दै महासंघको आगामी चुनाव चैत महिनामा हुने जानकारी दिए। साथै बैंकिङ क्षेत्रमा निष्कृय कर्जा (एनपीएल) पनि वृद्धि हुँदै गएको उनको भनाइ छ।

सम्पादकीय नोटः फाइनान्स कम्पनीबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘फाइनान्स कनेक्ट’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै फाइनान्स कम्पनीका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने फाइनान्स कम्पनी क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।