तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्धारा २५ अर्बको ऋणपत्र जारी
वि.सं.२०८२ पुस २८ सोमवार ११:११
shares

काठमाडौं, २८ पुस । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरेको छ। केन्द्रीय बैंकले एक वर्ष अवधिको ऋणपत्र बोलकबोलमार्फत जारी गरेको हो।
राष्ट्र बैंकका अनुसार निष्कासित ऋणपत्रको नाम “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’” रहेको छ। सो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट तय गरिनेछ भने यसको साँवा भुक्तानी २०८३ पुस २८ गते हुनेछ। ब्याज भुक्तानी भने अर्धवार्षिक रूपमा गरिने केन्द्रीय बैंकले जनाएको छ।
ऋणपत्रमा बोलकबोल गर्दा एकल वा बहु ब्याजदर दुवै माध्यम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसमा वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले सहभागिता जनाउन पाउने छन्।
राष्ट्र बैंकले बोलकबोलमार्फत संकलित प्रस्तावहरूलाई न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रम अनुसार मिलाई आह्वान गरिएको रकम वा समितिले तोकेको सीमासम्म स्वीकार गर्ने जनाएको छ। सो प्रक्रियाबाट कायम हुने ब्याजदरलाई एकल ब्याजदर मान्दै, सो दर वा सोभन्दा कम ब्याजदरमा प्रस्ताव गर्ने संस्थालाई ऋणपत्र बाँडफाँट गरिनेछ।
यसअघि पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्न पुस २४ गते १० अर्ब रुपैयाँको एक वर्षे नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरेको थियो।















