Dhulikhel Eco Banner new

पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपत बढाऔं  :  उर्जामन्त्री भुसाल

5.04K
shares

काठमाडौं, १३ असार । जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले महङ्गिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपतलाई बढाउन आग्रह गरेकी छिन् ।
मुलुकको आर्थिक समृद्घिको मुख्य आधार जलविद्युत भएको भन्दै उहाँले महङ्गिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपतलाई बढाउन आग्रह गरेकी हुन् ।

नेपाल सर्भेयर एसोसिएसनले जलविद्युत आयोजनाको बीमाका समस्यामा केन्द्रित गर्दै आइतबार राजधानीमा आयोजना गरेको ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भनिन् – “प्रकृतिले दिएको वरदान अर्थतन्त्रको महत्वपूर्ण स्रोत उर्जाको भरपुर उपयोग गर्न नसक्दा हामी आर्थिक र सामाजिक विकासका दृष्टिले पछि पर्‍यौं । ११२ वर्ष पहिले जलविद्युत उत्पादन गर्ने एसियामै पहिलो राष्ट्र भएर पनि जलविद्युतको उपयोग गर्ने सवालमा नेपाल पछाडी प¥यो ।”

पछिल्लो समय विद्युत उत्पादनमा आत्मनिर्भरको बाटोमा पुगेको भन्दै उनले उद्योगधन्दाका लागि पनि अहिले उर्जा अभाव नभएको बताएकी छिन् । मन्त्री भुसालले जलविद्युत आयोजनाको बीमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार भन्दै सरोकारवालाहरुलाई यस विषयमा छलफलबाट समाधान निकाल्न आग्रह गरिन् ।

नाफामूलक तरिकाले मात्रै बीमा क्षेत्रलाई नलिन आग्रह गर्दै सेवा प्रवाहका दृष्टिले हेर्न उनले आग्रह गरिन् । बीमाले संकटको सुरक्षा गर्ने भएकाले एकदमै नाफा गर्ने भन्दा पनि सेवा गर्ने क्षेत्रका रुपमा सबैले बुझ्नु पर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुककै समृद्घिको मुख्य आधार जलविद्युत आयोजनाहरुलाई बीमाका दृष्टिले जोखिम रहित बनाउन सके जलविद्युतको निर्माण र भूमिकाले पनि तीब्रता पाउने बताए ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रकै महत्वपूर्ण पक्षका रुपमा सर्भेयर भएको भन्दै भने – “सर्भेयरले पीडाको बेलामा उपस्थिति जनाउँछ । उसकै रिपोर्टको आधारमा बीमितले राहत पाउँछ ।”

सर्भेयरको विश्वसनियता नै बीमा व्यवसायको साखसँग जोडिएको भन्दै उहाँले सर्भेयरको भूमिका र विश्वसनियता बढाउन एसोसिएसनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमाको दरको विषय अन्तराष्ट्रिय अभ्यास अनुसार तय हुने बताउँदै जलविद्युत क्षेत्रको बीमाको दरका विषयमा रहेको विवाद छलफलबाट समाधान गर्न सकिने बताए ।

जलविद्युतको बीमाका क्षेत्रमा देखिएका विवाद समाधानका लागि आजको गोष्ठीले मद्दत गर्ने सर्भेयर एसोसिएसनका उपाध्यक्ष देउकाजी गुरुङले जानकारी दिए ।
एसोसिएसनका महासचिव पवित्रविक्रम राणाले समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महसुस गरेर हाल जलविद्युत क्षेत्रमा खट्किएको विविध समस्याहरुलाई सम्बोधन गर्न र यस क्षेत्रसँग सम्वद्घ विज्ञहरुको अनुभव, ज्ञान आदानप्रदान गर्दै आपसी समझदारी विकास गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताए ।

गोष्ठीको निचोढलाई सर्भेयर संघले सम्बन्धित निकायलाई प्रतिवेदनको रुपमा उपलब्ध गराउने अध्यक्ष मोहन पुरुष ढकालले बताए ।
कार्यक्रममा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ ।

कार्यशाला गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया भएको एसोसिएसनका सचिव बुद्घकाजी श्रेष्ठले बताए ।
नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई उच्च मनन् गर्दै कार्यशाला गोष्ठी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताएका छन् ।
गोष्ठीले जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भइ क्षति भएमा क्षतिको मूल्याङ्कन गर्ने क्षति मूल्याङ्कनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पुर्ण लगानीकर्ताहरुको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकायबीचको अकर्मणयताको निदान गर्न, असमझदारीको खाडल पुर्ति गर्न मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भुमिका हुने अपेक्षा गरेका छन् ।