किसान सहकारीका शेयर सदस्यलाई निसर्ग हस्पिटलमा २० प्रतिशतसम्म उपचार छुट
वि.सं.२०८२ माघ ७ बुधवार १४:३४
shares

काठमाडौं, ७ माघ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी शेयर सदस्य रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरूले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
किसान सहकारी र निसर्ग हस्पिटलबीच मंगलबार उपचार सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बर बहादुर शाहले हस्ताक्षर गरेका छन्।
धनगढीमा निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको निसर्ग हस्पिटल सुदूरपश्चिममै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल हो। विसं २०५२ मा स्थापना भएको किसान सहकारीको केन्द्रीय कार्यालय कैलालीको लम्कीमा रहेको छ। सहकारीले सुदूरपश्चिमका नौ जिल्लासहित बर्दियाको राजापुर नगरपालिकामा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। हाल सहकारीमा ९३ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन्।
सामाजिक सेवाअन्तर्गत सहकारी र हस्पिटलबीच उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता गरिएको हो। किसान सहकारीका विभागीय प्रमुख दीपक ढुङ्गानाका अनुसार शेयर सदस्यले जनरल बेडमा भर्ना हुँदा १५ प्रतिशत, क्याबिन भर्नामा १० प्रतिशत, आईसीयू बेडमा १२।५ प्रतिशत र एनआईसीयू बेडमा १२।५ प्रतिशत छुट पाउने छन्।
त्यसैगरी जनरल, सर्जरी, अर्थोपेडिक र गाइनोलोजी उपचारमा १० प्रतिशत, ल्याप्रोस्कोपी अपरेसनमा १० प्रतिशत, प्याथोलोजी सेवामा २० प्रतिशत तथा भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, ईको, टीएमटी र एन्डोस्कोपी सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ। औषधि खरिदमा पनि ५ प्रतिशत छुट प्रदान गरिनेछ।
सम्झौताअनुसार सहकारीले उपचारका लागि पठाउने बिरामी अनिवार्य रूपमा संस्थाको शेयर सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ।
सम्झौता कार्यक्रममा किसान सहकारीका महाप्रबन्धक शाहले सहकारीले शेयर सदस्यलाई जन्मदेखि मृत्युसम्मका सेवा प्रदान गर्ने उद्देश्यका साथ काम गर्दै आएको उल्लेख गर्दै उपचार सेवामा सहजता ल्याउन निसर्ग हस्पिटलसँग सहकार्य गरिएको बताए। आगामी दिनमा अन्य क्षेत्रका सेवा प्रदायकसँग समेत सम्झौता गर्दै सदस्यलाई थप सुविधाहरू उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए।
हाल किसान सहकारीले किसान–कोप वित्तीय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी तीनवटा व्यावसायिक सेवा सञ्चालन गर्दै आएको छ। संस्थाको कुल कारोबार ७ अर्ब २० करोड रुपैयाँ रहेको छ।















