वैदेशिक व्यापार बढे पनि घाटा उकालो, ६ महिनामा झण्डै ८ खर्ब घाटा
वि.सं.२०८२ माघ ७ बुधवार १४:४२
shares

काठमाडौं, ७ माघ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले गरेको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । आयात र निर्यात दुवै बढे पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा अझै फराकिलो बन्दै गएको देखिन्छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको आयात र ९८ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस आधारमा हेर्दा चालु वर्षमा आयात १४.१८ प्रतिशतले वृद्धि भएको छ भने निर्यातमा भने ४३.७६ प्रतिशतको उल्लेखनीय सुधार देखिएको छ ।
यद्यपि निर्यातको वृद्धिदर उच्च भए पनि आयातको तुलनामा यसको हिस्सा न्यून रहँदा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यो घाटा अघिल्लो वर्षको तुलनामा १०।१५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।















