रगतले लेखिएको इतिहास सम्झँदै आज शहीद दिवस मनाइँदै
वि.सं.२०८२ माघ १६ शुक्रवार १०:१०
shares

काठमाडौं, १६ माघ । देश र जनताका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ।
इतिहासका विभिन्न चरणमा अग्रगामी परिवर्तनका लागि भएका आन्दोलन, संघर्ष र विद्रोहमा प्राण आहुति दिएका वीर शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ।
विक्रम संवत् २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा शहीदहरूको स्मृतिमा औपचारिक रूपमा शहीद दिवस मनाउन थालिएको इतिहास छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी शहीदहरू विक्रम संवत् १९९७ मा तत्कालीन शासकद्वारा निर्ममतापूर्वक मारिएका थिए। शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा खरीको रूखमा झुन्ड्याइएको थियो। त्यसैगरी, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा झुन्ड्याइयो भने गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।
इतिहासकारहरूका अनुसार नेपालको पहिलो शहीदका रूपमा लखन थापालाई मानिन्छ। शहीद दिवसले देशका लागि बलिदान दिने शहीदहरूको योगदान स्मरण गर्दै लोकतन्त्र, स्वतन्त्रता र न्यायका मूल्यहरूलाई आत्मसात् गर्ने सन्देश दिने गरेको छ ।















