Dhulikhel Eco Banner new

नेपाली फिल्ममा दक्षिण भारतीय कलाकार ब्रहमानन्दम

7.5K
shares

काठमाडौं, १४ असार । नीता फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म ह्रस्व दीर्घ घोषणाको क्रमदेखि चर्चामा छ । अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहनेछन् । नीता र हरिहर आफैमा लभ कपल हुन् ।

यो जोडीले घोषणा गरेको फिल्ममा भारतका चर्चित कलाकारहरु लगातार अनुबन्धको खबरले बजार गर्माइरहँदा हालै मात्रै चर्चीत दक्षिण भारतीय कलाकार ब्रहमानन्दम अनुबन्ध भएको खबर सार्वजनिक भएको छ । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली फिल्ममा ब्रहमानन्दम खेल्न राजी भएका हुन् । उनलाई सबै कलाकारको दाँजोमा सर्वाधिक महंगो पारिश्रमिकमा फिल्ममा अनुबन्ध गराएको निर्माण टिमले बताएको छ । निर्देशक पन्तले उनिसँग सम्झौता गरेका छन् ।

कमिक अभिनयबाट चर्चित कलाकार ब्रहमानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने (ठुलोपर्दामा देखिने) जीवित कलाकारको गिनिज वर्ल्ड रेकर्ड होल्डर हुन् । तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन् । उनले दक्षिण भारतका स्टार ट्याग पाएका प्रायः सबैजसो अभिनेतासँग काम गरिसकेका छन् । पछिल्लो समय उनि सर्वाधिक धेरै अल्लु अर्जुन स्टारर फिल्ममा देखिँदै आएका थिए । ब्रहमानन्दम नेपाली दर्शकमाझ पनि भारतबाट सर्वाधिक लोकप्रिय कमेडी कलाकारमा पर्छन् ।

ब्रहमानन्दमले धेरै फिल्म अभिनयको गिनिज रेकर्ड समेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग सुर्यवंसम् गरेयता बलिउडका समेत कुनै फिल्ममा खेल्न तयार भएका छैनन् । पछिल्लो क्रममा भारतको मुलधारको फिल्मलाई दक्षिण भारतीय फिल्मले आच्छु आच्छु पार्दै आएका छन् । त्यसको प्रभाव नेपालमा पनि देखिँदा नीता फिल्मस् ले दक्षिण भारतीय कलाकारहरुमाथि आँखा लगाएको सहजै अनुमान लगाउन सकिन्छ । ब्रहमानन्दमको उपस्थितिले आफ्नो कास्टिङ लाइनअप मजबुद बनाएको नीताले बताइन् ।

यसअघि यो फिल्ममा सुप्रसिद्ध भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर अलीसमेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

नेपाल र भारतमा खिचिने ह्रस्व दीर्घुमा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन् । फिल्मको हाल स्कृप्ट लक भएसँगै प्रि(प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए । दशैंपछाडि असोज महिनाबाट फिल्म फ्लोरमा जाने बताइएको छ । यो फिल्मलाई संसारकै ठुलो फिल्म सिटी रामोजी स्टुडियोमा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।