Dhulikhel Eco Banner new

काठमाडौंको वायु गुणस्तर अत्यन्तै खराब, विश्वकै प्रदूषित सहरको शीर्ष ५ मा

4.45K
shares

काठमाडौं, ८ फागुन । राजधानी काठमाडौंको वायु गुणस्तर हाल अत्यन्तै दयनीय अवस्थामा पुगेको छ । वायु प्रदूषण बढेसँगै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ ।

वायु गुणस्तरसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने संस्था आईक्यू एयर का अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक एक्यूआई १८२ मापन गरिएको छ । यो स्तरलाई ‘अस्वस्थ’ श्रेणीमा राखिन्छ ।

० देखि ५० एक्यूआईसम्मको हावालाई राम्रो, ५१ देखि १०० सम्मलाई मध्यम, १०१ देखि २०० सम्मलाई अस्वस्थ र त्यसभन्दा माथिको स्तरलाई झन् जोखिमपूर्ण मानिन्छ ।

तथ्यांकअनुसार काठमाडौंको हावामा रहेको सूक्ष्म धुलो कण (पीएम २.५) को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा १६.५ गुणा बढी रहेको छ । काठमाडौं उपत्यकाभित्र त्रिपुरेश्वर, बालकोट, कोटेश्वर र कुमारीपाटी क्षेत्रमा सबैभन्दा बढी वायु प्रदूषण मापन गरिएको छ ।

वायु प्रदूषण बढेसँगै स्वास्थ्य विज्ञहरूले बाहिर व्यायाम, मोर्निङ वाक तथा लामो समय खुला स्थानमा बस्न नदिन सुझाव दिएका छन् । आवश्यक नभएसम्म घरबाहिर ननिस्कन, झ्यालढोका बन्द राख्न, हावा शुद्ध गर्ने उपकरण प्रयोग गर्न तथा बाहिर निस्कनुपरे मास्क लगाउन आग्रह गरिएको छ ।

विश्वका प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर पहिलो स्थानमा रहेको छ, जहाँ वायु गुणस्तर सूचकांक ४१२ पुगेको छ, जसलाई अत्यन्त खतरनाक स्तर मानिन्छ । त्यसैगरी बंगलादेशको ढाका दोस्रो, भारतको नयाँ दिल्ली तेस्रो र कोलकाता चौथो स्थानमा रहेका छन् । काठमाडौं पाँचौँ स्थानमा परेको हो ।