Dhulikhel Eco Banner new

रोजगारी, उद्योग र सुशासन मेरो पहिलो एजेण्डा– पारसमणि गेलाल

6.34K
shares

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उदयपुर–१ का उम्मेदवार पारसमणि गेलालले आफ्नो चुनावी अभियानलाई व्यक्ति केन्द्रित नभई मुद्दा केन्द्रित बनाएको बताएका छन् । घरदैलो, टोल–टोल अन्तरक्रिया, किसान भेटघाट, युवा संवाद तथा व्यवसायीसँग छलफलमार्फत जनताको वास्तविक समस्या सुन्ने र त्यसकै आधारमा प्राथमिकता निर्धारण गर्ने काम भइरहेको उनले बताए ।

गेलालका अनुसार अधिकांश वडा र बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा अभियान तीव्र रूपमा अघि बढिरहेको छ । “हामी सुनिनेभन्दा सुन्ने अभियानमा छौं,” उनले भने, “जहाँ पुग्छौं, त्यहाँका सुझाव टिपोट गरेर कार्ययोजना बनाइरहेका छौं ।”

रोजगारी, शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता
अन्तर्वार्ताका क्रममा उनले स्थानीय मतदाताको मुख्य अपेक्षा रोजगारी सृजना, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, कृषि समस्या समाधान र पूर्वाधार विकास रहेको बताए। युवाहरू विदेश जानु नपर्ने वातावरणको माग गरिरहेका छन् भने किसानहरूले मल–बीउको सुनिश्चितता र उत्पादनको उचित बजार खोजिरहेका छन् ।

स्पष्ट योजना, इमानदार नेतृत्व र संघ–प्रदेश–स्थानीय तहबीच समन्वय भए यी माग पूरा गर्न सकिने उनको विश्वास छ । “जितेपछि प्राथमिकताका आधारमा काम अघि बढाउनेछु,” उनले भने ।

उद्योग संरक्षणमा जोड
गेलालले उदयपुर सिमेन्ट उद्योग लाई राष्ट्रिय सम्पत्तिको रूपमा संरक्षण गर्नुपर्ने धारणा राखे। हतारमा निजीकरण गर्नुको सट्टा व्यवस्थापन सुधार, प्रविधि आधुनिकीकरण र पारदर्शिता आवश्यक रहेको उनको भनाइ छ। राजनीतिक हस्तक्षेप अन्त्य गरी पेशागत व्यवस्थापन नियुक्ति, उत्पादन क्षमता वृद्धि र बजार विस्तारमार्फत उद्योगलाई प्रदेशकै आर्थिक मेरुदण्ड बनाउने लक्ष्य उनले व्यक्त गरे ।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सम्भावना
उदयपुरमा प्राविधिक शिक्षा विस्तार, कृषि र उद्योगमा आधारित रोजगारी सृजना तथा जिल्ला अस्पताल सुदृढीकरणबाट पाँच वर्षभित्रै उल्लेखनीय सुधार सम्भव रहेको उनले दाबी गरे। किसानका लागि सिँचाइ विस्तार, मल–बीउको समयमै आपूर्ति, सरकारी खरिद प्रणाली सुदृढीकरण र उत्पादनदेखि बजारसम्म जोड्ने संरचना निर्माण आफ्नो प्राथमिकतामा रहेको उनले स्पष्ट पारे ।

पर्यटन र पूर्वाधार विकास
उदयपुरमा धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटनको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनले पर्यटन पूर्वाधार विकास, प्रचार–प्रसार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए ।

पुल समस्याको दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माणलाई प्राथमिकता दिने र छोटो अवधिमा जोखिमयुक्त स्थानमा झोलुङ्गे पुल तथा वैकल्पिक सडकको व्यवस्था गर्न संघ–प्रदेशसँग समन्वय गर्ने उनले प्रतिबद्धता जनाए ।

समग्र भिजन– आत्मनिर्भर उदयपुर
गेलालले उद्योग, कृषि र पर्यटनमा आधारित आत्मनिर्भर उदयपुर निर्माण गर्ने भिजन अघि सारेका छन्। प्राविधिक शिक्षा केन्द्र स्थापना, कृषि प्रशोधन उद्योग, युवा स्टार्टअप प्रोत्साहन कोष, डिजिटल तथा पारदर्शी जनप्रतिनिधि कार्यालय र भ्रष्टाचारमुक्त शासन प्रणाली उनको घोषणापत्रका मुख्य बुँदा रहेका छन् ।

उदयपुर–१ मा चुनावी माहोल तातेका बेला पारसमणि गेलालले विकास, रोजगारी र सुशासनको एजेन्डा अघि सार्दै मतदाताको विश्वास जित्ने प्रयास गरिरहेका छन् । अब मतदाताले कस्तो निर्णय गर्छन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।