Dhulikhel Eco Banner new

अत्यधिक तरलतालाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छः अर्थमन्त्री खनाल

4.68K
shares

काठमाडौं, ४ चैत । अर्थमन्त्री रामेश्वर खनालले देश अहिले सुशासनको नयाँ चरणतर्फ अघि बढिरहेको बताएका छन्। नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी पुस्ताको विद्रोहपछि मुलुक महत्वपूर्ण परिवर्तनको संघारमा रहेको उल्लेख गरे। खनालका अनुसार नेपाली जनताले ठूला राजनीतिक दललाई स्पष्ट जनादेश दिइसकेको र छिट्टै नयाँ सरकार गठन हुने अपेक्षा गरिएको छ। उनले आउँदो केही समयभित्रै स्थिर सरकार बन्ने विश्वास व्यक्त गरे।

उनले २०४६ सालमा स्थापना भएको नागरिक लगानी कोष अहिले ३६औँ वार्षिकोत्सव मनाउँदै सशक्त वित्तीय संस्थाको रूपमा स्थापित भएको बताए। सरकारी स्वामित्वका धेरै वित्तीय संस्थाहरू ३५ वर्ष नपुग्दै संकटमा परेको उदाहरण दिँदै उनले राष्ट्रिय वाणिज्य बैंक लाई दुई पटक उद्धार गर्नुपरेको र कृषि विकास बैंक लाई पनि पटक–पटक सहयोग गर्नुपरेको स्मरण गरे।

त्यसको विपरीत नागरिक लगानी कोष भने अहिलेसम्म सबल अवस्थामा रहनु सकारात्मक पक्ष भएको उनले बताए।

अर्थतन्त्र सुधारका लागि उनले बैंक तथा वित्तीय संस्थामा रहेको अत्यधिक तरलतालाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। हाल ब्याजदर घट्दै गएको अवस्थामा ठूला पूर्वाधार आयोजनामा लगानी विस्तार गर्नुपर्ने उनको धारणा छ।

खनालले बुढीगण्डकी जलविद्युत आयोजना जस्तो करिब ३०० अर्ब रुपैयाँ लागतको परियोजनालाई सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत अघि बढाउनुपर्ने बताए। सरकारले उठाउँदै आएको पूर्वाधार करबाट वार्षिक २२–२३ अर्ब रुपैयाँ जुट्ने उल्लेख गर्दै उनले यस्तो रकमलाई ठूला आयोजनामा प्रयोग गरी तरलता व्यवस्थापन गर्न सकिने बताए।

उनका अनुसार दीर्घकालीन आर्थिक स्थायित्वका लागि सुशासन, प्रभावकारी लगानी र वित्तीय अनुशासन अपरिहार्य छन्।