अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘मेहरुन्निसा’ फिल्मको विशेष प्रदर्शन आयोजना
वि.सं.२०८२ चैत ४ बुधवार १८:०८
shares

काठमाडौं, ४ चैत । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा ‘मेहरुन्निसा’ फिल्मको विशेष प्रदर्शन गरिएको छ।
अस्ट्रियन दूतावास, नयाँ दिल्लीको पहलमा अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा नेपाल महिला उद्यमी महासंघसँगको सहकार्यमा आज काठमाडौंस्थित क्यूएफएक्स छाया केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका करिब १५० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।
महिला दिवसको अवसर पारेर अस्ट्रियन सांस्कृतिक मञ्च र दूतावासले दक्षिण एशियाका भारत, बंगलादेश, भुटान, नेपाल र श्रीलंकामा रहेका अष्ट्रियाका मानार्थ वाणिज्य दूतावासहरूसँग सहकार्य गर्दै ‘मेहरुन्निसा’ को विशेष प्रदर्शन गरेका हुन्।
निर्देशक सन्दीप कुमारद्वारा निर्देशित ९० मिनेट लामो नाटक ९ड्रामा० विधाको फिल्म ‘मेहरुन्निसा’ लखनउको परिवेशमा आधारित छ। फिल्ममा ८० वर्षीया एक विधवाले आफ्ना दिवंगत श्रीमानको प्रभावबाट मुक्त हुँदै आफ्नै पहिचान स्थापित गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ। यस क्रममा उनले पितृसत्तात्मक मान्यतालाई चुनौती दिँदै महिला सशक्तीकरणको सशक्त सन्देश प्रवाह गर्छिन्।
फिल्ममा भारतीय चर्चित चरित्र अभिनेत्री फारुख जाफरले ८८ वर्षको उमेरमा पहिलो पटक मुख्य भूमिका निर्वाह गरेकी छन्। उनले यसअघि ‘पिपली लाइभ’, ‘स्वदेस’, ‘सुल्तान’, ‘सेक्रेट सुपरस्टार’ र ‘फोटोग्राफ’ लगायतका चर्चित फिल्महरूमा अभिनय गरिसकेकी छन्।
‘मेहरुन्निसा’ को प्रिमियर भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोवा) मा भएको थियो। त्यसपछि यो फिल्म विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन भइसकेको छ र स्टुटगार्ट फिल्म महोत्सवमा उत्कृष्ट अभिनेत्री पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेको छ।
आयोजकका अनुसार, यस्ता सांस्कृतिक कार्यक्रमहरूले महिला अधिकार, समानता र सशक्तीकरणको सन्देश प्रवाह गर्नुका साथै अष्ट्रिया र दक्षिण एशियाली देशहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।


















