Dhulikhel Eco Banner new

ओली पक्राउको विरोधमा एमाले आन्दोलनमा उत्रिने, प्रदर्शनका लागि आह्वान

प्रदर्शनको विस्तृत कार्यक्रम भने केही समयमै सार्वजनिक गरिने

4.67K
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आन्दोलनमा उत्रिने भएको छ। पार्टीका सचिव महेश बस्नेत ले अध्यक्ष ओलीको पक्राउलाई लिएर विरोध प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत् कार्यकर्ता तथा समर्थकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। उनले ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न’ आन्दोलन आवश्यक रहेको उल्लेख गर्दै आजदेखि सुरु हुने कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। प्रदर्शनको विस्तृत कार्यक्रम भने केही समयमै सार्वजनिक गरिने जनाइएको छ।

जेन–जी आन्दोलन दमन प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले आज बिहान पक्राउ गरेको थियो। यस घटनापछि राजनीतिक माहोल थप तातिएको छ।

सचिव बस्नेतले पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै यसले देशमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुर्‍याउने खतरा रहेको छ।

त्यसैगरी, उनले जेन–जी आन्दोलनका क्रममा कमजोर देखिएको नेपाल प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। सरकारी सम्पत्ति जोगाउन असफल देखिएको सुरक्षा निकाय अहिले भने राजनीतिक नेतृत्वलाई पक्राउ गर्न व्यापक रूपमा परिचालित भएको भन्दै उनले आलोचना गरेका छन्।

एमालेको आन्दोलन घोषणासँगै देशको राजनीतिक वातावरण थप तनावपूर्ण बन्ने संकेत देखिएको छ भने आगामी दिनमा सरकार र प्रतिपक्षबीचको टकराव अझ तीव्र हुने आकलन गरिएको छ।