Dhulikhel Eco Banner new

बेलायतबाट नेपाली बैंकहरुले सिक्नुपर्ने ५ महत्वपूर्ण कुरा

3.89K
shares

विश्वव्यापी रूपमा वित्तीय सेवा क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रुपमा परिचित ब्रेट किङले आफ्नो किताब (नियो बैंकिङ २.०) मा भविष्यमा बैंकका शाखा नचाहिने तर बैंकिङ भने हुनुपर्ने बताउँछन । आर्थात अंग्रेजिमा (Banking is necessary but Banks are Not) भनेर उल्लेख गरेका छन । बेलायतका बैंकहरुले पनि यही भनाइलाई ब्यवहारमा उतारेको पाइन्छ । हुन त बेलायतको बैंकिङ प्रणाली विश्वभरकै एक प्रभावशाली नमुनाको रूपमा उभिएको छ । यसले आफ्नो २०८ बिलियन पाउन्ड बराबरको वित्तीय सेवा बिक्रि गरी आफ्नो जिडिपीमा १० प्रतिशत योगदान गर्दछ । यहाँ केवल सिद्धान्त र नीतिहरू मात्र नभई, दैनिक जीवनमा प्रयोग हुने व्यवहारिक बैंकिङ अभ्यासहरूले पनि विश्वका धेरै देशहरूलाई आकर्षित गरिरहेका छन्।

नेपालमा बैंकिङ प्रणाली नेपाल राष्ट्र बैंक द्वारा नियन्त्रित छ भने बेलायतमा द्यबलप या Bank of England ले वित्तीय स्थायित्व सुनिश्चित गर्छ। बेलायतमा ३०० भन्दा बढी बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्, जबकि नेपालमा २० वाणिज्य बैंकहरू, विकास बैंकहरु, फाइनान्स, लघुवित्त गरी १०० बढि वित्तिय संस्थाहरु छन्।

डिजिटल बैंकिङको क्षेत्रमा बेलायत धेरै अगाडि छ। Monzo / Revolut जस्ता विश्वब्यापी रुपमा परिचित डिजिटल बैंकहरूले मोबाइलबाटै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँछन्। नेपालमा भने eSewa / Khalti जस्ता वालेटहरू लोकप्रिय भए पनि बैंकिङ अझै आंशिक रूपमा शाखामा निर्भर छ। त्यसैले नेपालले पनि बेलायतजस्ता बिकसित मुलुकबाट केही नयाँ र अत्यन्तै सरल बैंकिड सिक्न जरुरी छ ।

सामान्य कामको लागि शाखा जानै पर्दैन
बेलायतमा बैंकिङ सेवा लिनका लागि अनिवार्य रूपमा बैंक शाखामा जानु आवश्यक छैन। यो यहाँको सबैभन्दा व्यवहारिक र प्रभावकारी पक्ष हो। मानिसहरूले (Post Office)मार्फत पैसा जम्मा वा झिक्न सक्छन्। बैंकका शाखा विरलै भेटिन्छन अझ भनौं भेट्न गाह्रो हुन्छ ।

पोष्ट अफिसमा सामान्य सेवाहरु सबै उपलब्ध हुन्छन । जस्तै सामान आदान प्रदान गर्न, केही सरकारी सेवाहरु, फर्म भर्न, अनलाइन सेवा, धेरै किसिमका बिल भुक्तानी गर्न साथै, एटीएम र खुद्रा पैसा साट्न पनि त्यहाँ पुगे हुन्छ ।

बेलायतका पोष्ट अफिसहरुमा खुद्रा सामानहरु पनि खरिद गर्न मिल्छ । अझ भनौं सबै साना भन्दा पनि साना कामहरुको लागि पाइला पाइलामा पोष्ट अफिसहरु राखिएको हुन्छ जसले गर्दा मानिसहरुलाई आवश्यक पर्ने धेरै सेवाहरू त्यहीँ उपलब्ध छन्।

यसले ग्रामीण तथा साना शहरहरूमा बस्ने मानिसहरूलाई सहज बनाएको छ। विकासशील राष्ट्रहरूमा जहाँ बैंक शाखाहरू सीमित छन्, यस्तो मोडेल अत्यन्त उपयोगी हुन सक्छ। नेपालमा भने साना सेवाहरु लिन बैंकका शाखाहरु धाउनुपर्ने बाध्यतालाई यस्तो मोडलले सहयोग गर्न सक्छ । नेपालका बैंकहरुलाई पनि धेरै शाखाहरु सञ्चालन गर्ने सञ्चालन खर्च कम हुँदा फाइदा पुग्न सक्दछ ।

वान टच गेम फिनिस
डिजिटल नवप्रवर्तनले बेलायतको बैंकिङ प्रणालीलाई अझ सशक्त बनाएको छ। Revolut / Monzo जस्ता फिन्टेक कम्पनीहरूले मानिसहरूको दैनिक वित्तीय गतिविधिलाई पूर्ण रूपमा परिवर्तन गरेका छन्। यसको सेवाको लागि कतै जानै पर्दैन । मानिसहरूले मोबाइलबाटै अन्तर्राष्ट्रिय पैसा पठाउन, खर्चको हिसाब राख्न र विभिन्न मुद्रामा कारोबार गर्न सक्छन्।

अझ यसमा यस्तो चुस्त सेवा बनाइएको हुन्छ कि तपाईको खर्च आम्दानी नमिल्दा यसले सेवा दिन आनाकानी नै गर्छ । सार्वजनिक यातायातदेखि साना पसलसम्म, कार्ड वा मोबाइलबाट भुक्तानी गर्न सकिने व्यवस्था यसमा हुन्छ ।

यसलाई यसरी बुझौं, तपाईलाई २० वर्षसम्म नगद पैसा नभए पनि चल्छ । नगद प्रयोगलाई न्यून बनाउँदै जाँदा भ्रष्टचार हुँदै हुँदैन । नेपालले सिक्नुपर्ने भनेको ब्रेट किडले भनेको जस्तो फिनटेक मोडल हो जहाँ सबै कुरा नम्बरमा चल्छ ।

नगद पैसा छाप्दा लाग्ने सरकारको लागत पनि बचत हुन्छ । हाम्रो जस्तो विकासशील देशका लागि यो ठूलो अवसर हो, किनकि हामीले नेपालमा सिधै डिजिटल प्रणाली अपनाएर परम्परागत संरचनाको चुनौती पार गर्न सक्छौँ । तर फेरि यसको लागि समय त लाग्छ । किनभने अझै पनि हामी नेपालीहरुको लागि यस्ता प्रविधियुक्त निति तथा नियम बनाउन समय लाग्छ । किनभने डिजिटल प्रणाली जती सजिलो हुन्छ त्यती नै जोखिम हुन्छ ।

अझ सहज कुरा गर्ने हो भने यहाँ एटिएम अर्थात भिसा कार्डको यती मज्जाले प्रयोग गरिन्छ कि मानौ तपाई सामान किन्न जानुभयो भने तपाईलाई न कुनै पसलेलाई सोध्नुपर्छ न त्यसलाई पैसा तिनुपर्छ । सुपरमार्केटमा जाने आफुलाई मन लागेको सामान किन्ने त्यहाँ डिजिटल पेमेन्ट बक्सहरु राखिएको हुन्छ त्यसमा आफ्नो कार्ड एकपटक देखाइदिने त्यसपछि आफ्नो सामान झोलामा राख्ने घरमा ल्याउने । बसमा अथवा रेलमा सफर गर्दा पनि उस्तै सजिलो ।

बसको चालकको छेउमा आफ्नो कार्ड देखाइदिने कति पैसा काट्नुपर्ने हो आफै काट्छ । रेलमा पनि स्टेसनमा आफ्नो कार्ड देखाएपछि आफै ढोका खुल्छ त्यसपछि निस्किने बेलामा पनि कार्ड देखाएपछि आफै खुल्छ । यती सहज छ कि वान टचमा सबै कुरा तुरुन्तै भइहाल्छ । न नगद बोक्ने झनझट न नेपालमा जस्तो पैसा फिर्ता देउ भन्दै सहचालकलाई गुहारिरहनुपर्ने जरुरत । यस्तो सेवा ल्याउन नेपालमा पनि केही समयनै लाग्दैन । बैंकहरु आफैले पनि गर्न सक्दछन ।

कस्टुमर लोयालीटी (Customer Loyalty

बेलायतमा ग्राहक केन्द्रित बैंकिङ संस्कृतिले ठूलो परिवर्तन ल्याएको छ । बैंकहरूले सेवा दिनु मात्र होइन, ग्राहकको अनुभवलाई सहज बनाउनेतर्फ ध्यान दिएका छन्। उदाहरणका लागि, डिजिटल बैंकिङ एपहरू प्रयोग गरेर मानिसहरूले आफ्नो खाताको गतिविधि तुरुन्तै थाहा पाउँछन्।

Monzo जस्ता बैंकहरूले खर्च गरेको बित्तिकै सूचना दिने, कार्ड हराएमा तुरुन्तै ब्लक गर्ने जस्ता सुविधाहरू उपलब्ध गराएका छन्। यती मात्रै नभई यस्ता फिनटेकहरुले मानिसहरुलाई आफ्नो पैसा कहाँ गइरहेको छ, के–के कुरामा कहाँ खर्च भइरहेको छ सबैको रेकर्ड राखिदिन्छन र बेला बेलामा खबरदारी गरिरहन्छन ।

यस्ता कुराले गर्दा मानिसहरुले आफ्नो आम्दानी र खर्चलाई ब्यालेन्स बनाउन सक्छन । सायद नेपालमा सिकाइने वित्तीय साक्षरतामा पनि आफ्नो पैसाको सदुपयोग कसरी गर्ने भनेर सिकान्छ । नेपालमा अझै पनि बैंकहरुले यस्ता सुविधाहरु ल्याउन सकेका छैनन । आफ्ना ग्राहकहरुलाई वास्तै नगर्ने, जथाभावी थाहै नदिइकिन पैसा काट्ने, कहिलेकाँही पैसा यसै हराउने जस्ता क्रियाकलापले बैंकहरुको पारदर्शितामा प्रश्न उठाउँछ ।

तर यता बेलायतमा दैनिक बैंकिङलाई सरल र प्रयोगमैत्री बनाएको छ। जस्तै बेलायतमा रहेका NatWest, Barclays / Lloyds बैंकहरु पुराना र आधुनिक बैंकिङ सेवाको लागि परिचित छन। यस्ता बैंकका डिजिटल प्रणाली, मोबाइल बैंकिङ र कार्ड सेवाहरूले ग्राहकलाई छिटो र सुरक्षित सेवाहरु दिएका छन ।

साधारण नागरिकका लागि बचत खाता, व्यक्तिगत ऋण र घर किन्नका लागि mortgage सेवा यती सहज रूपमा उपलब्ध छ कि धेरै सोच्नै पर्दैन । एउटै कागज र एकै दिनमा यस्ता सेवाहरु पाइन्छ ।

पारदर्शिता, जवाफदेहिता र समावेशीकरण
पारदर्शिता, जवाफदेहिता र वित्तीय समावेशीकरण बेलायतको अर्को महत्वपूर्ण उपलब्धि हो। यहाँ सबै वर्गका मानिसलाई बैंकिङ सेवामा पहुँच दिने नीति लागू गरिएको छ।

कम आम्दानी भएका, अस्थायी रोजगारी भएका वा बैंकिङ इतिहास नभएका व्यक्तिहरूले पनि सजिलै आधारभूत बैंक खाता खोल्न सक्छन्। यसले उनीहरूलाई औपचारिक अर्थतन्त्रमा सहभागी बनाउँछ। विकासशील राष्ट्रहरूमा ठूलो जनसंख्या अझै बैंकिङ सेवाबाट टाढा रहेको अवस्थामा, यस्तो समावेशी नीति अत्यन्त उपयोगी हुन सक्छ।

बेलायतको बैंकिङ प्रणालीको आधार कडा नियमन र विश्वसनीयता पनि हो। द्यबलप या भ्लनबिलम र Bank of England / Financial Conduct Authority जस्ता संस्थाहरूले बैंकहरूलाई स्पष्ट नियम र मापदण्डभित्र सञ्चालन गर्न बाध्य पार्छन्। यसको प्रत्यक्ष प्रभाव जनविश्वासमा देखिन्छ। सामान्य नागरिकहरू ढुक्क भएर आफ्नो बचत बैंकमा राख्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ कि कुनै समस्या आएमा पनि उनीहरूको रकम सुरक्षित रहनेछ।

धेरै विकासशील राष्ट्रहरूमा अझै पनि बैंकप्रति पूर्ण विश्वास नहुनु एक प्रमुख समस्या रहेको अवस्थामा, यस्तो प्रणालीले विश्वास निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। जस्तै बेलायतको HSBC विश्वकै ठूलो बैंकहरूमध्ये एक हो, जसको सेवा केवल बेलायतमै सीमित छैन। अन्तर्राष्ट्रिय कारोबार, विदेशी मुद्रा र विश्वव्यापी नेटवर्क र यसको विश्वासका कारण यसले व्यवसायी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विशेष महत्त्व राख्छ।

यस्ता बैंकहरूले आफ्नो सेवा, शुल्क र ब्याजदरबारे स्पष्ट जानकारी दिन्छन्। ऋण लिनु अघि ग्राहकले सम्पूर्ण विवरण बुझ्न पाउँछ। यदि कुनै समस्या आएमा गुनासो दर्ता गर्ने र समाधान पाउने प्रणाली पनि बलियो छ। यसले ग्राहक र बैंकबीच विश्वासको सम्बन्ध निर्माण गर्छ।

धेरै विकासशील देशहरूमा पारदर्शिताको अभावले समस्या निम्त्याइरहेको अवस्थामा, यस्तो अभ्यास आवश्यक देखिन्छ। तर नेपालका बैंकहरुले भने कतिबेला ब्याज बढाउँछन, हिसाबकिताब कस्तो राख्छन ग्राहकहरुलाई थाहै हुँदैन ।

वित्तीय साक्षरता प्रवद्र्धनमा पनि बेलायत अगाडि छ। विद्यालयदेखि नै बचत, लगानी र खर्च व्यवस्थापनबारे शिक्षा दिइन्छ। बैंकहरूले पनि आफ्ना एपमार्फत ग्राहकलाई बजेट बनाउन र खर्च नियन्त्रण गर्न सहयोग गर्छन्। यसले मानिसहरूलाई जिम्मेवार आर्थिक व्यवहार अपनाउन प्रेरित गर्छ। नेपालमा अझैसम्म पनि जम्मा ५७ प्रतिशत मात्र मानिसहरु वित्तीय रुपमा साक्षर छन भन्ने तथ्याडक छ । सन् २००८ financial crisis पछि

बेलायतले जोखिम व्यवस्थापनमा विशेष ध्यान दिएको छ । बैंकहरूले ऋण दिनुअघि ग्राहकको आर्थिक अवस्था राम्रोसँग मूल्यांकन गर्छन्। यसले अनावश्यक ऋण प्रवाहलाई रोक्दै बैंकिङ प्रणालीलाई सुरक्षित बनाएको छ। विकासशील राष्ट्रहरूले पनि दीर्घकालीन स्थायित्वका लागि यस्ता उपायहरू अपनाउन सक्छन्।

नैतिकता र व्यवसायिकता
नैतिकता र व्यावसायिकता पनि बेलायती बैंकिङ प्रणालीको मुख्य आधार हो। कर्मचारीहरूले उच्च नैतिक मापदण्ड पालन गर्नुपर्ने हुन्छ । ग्राहकको जानकारी सुरक्षित राख्ने, निष्पक्ष व्यवहार गर्ने जस्ता नियमहरू कडाइका साथ लागू गरिन्छन्। यदि कुनै धोखाधडी हुन्छ भने बैंकहरूले छिटो कारबाही गरेर ग्राहकलाई सहयोग गर्छन्।

यसले बैंकिङ प्रणालीप्रति विश्वास अझ मजबुत बनाउँछ। हुन त विज्ञहरू भन्छन् कि बेलायतको बैंकिङ प्रणालीलाई जस्ताको तस्तै अपनाउनु उपयुक्त हुँदैन। प्रत्येक देशको आफ्नै सामाजिक, आर्थिक र भौगोलिक अवस्था हुन्छ।

त्यसैले मूल सिद्धान्तहरू—जस्तै विश्वास, समावेशीकरण, डिजिटल प्रविधि र पारदर्शिता—लाई स्थानीय सन्दर्भअनुसार लागू गर्नु आवश्यक हुन्छ। उदाहरणका लागि, इन्टरनेट पहुँच कम भएका क्षेत्रमा मोबाइल एजेन्टमार्फत सेवा दिनु बढी प्रभावकारी हुन सक्छ। नेपालका बैंकहरुले पनि एशियामै उत्कृष्ट काम गरेको र नेपाल राष्ट्र बैंकले पनि प्रभावकारी नियमनकारी भुमिका निर्वाह गरिरहेको छ तर भनेजस्तो छैन ।

अन्ततः बेलायतको बैंकिङ प्रणालीले देखाएको बाटो नेपालजस्ता विकासशील राष्ट्रहरूका लागि अत्यन्तै प्रेरणादायी छ। दैनिक जीवनमै प्रयोग हुने सरल, सुरक्षित र पारदर्शी सेवाहरूले बैंकिङलाई सबैका लागि पहुँचयोग्य बनाएको छ । यदि नेपाललका बैंकहरुले पनि यस्ता अभ्यासहरूलाई सही ढंगले अपनाउन सके भने, आफ्नो अर्थतन्त्रलाई बलियो बनाउनुका साथै नागरिकहरूको जीवनस्तरमा पनि उल्लेखनीय सुधार ल्याउन सक्नेछन्।
(लेखक हाल बेलायतमा अध्यायनरत छन)