निजी क्षेत्रमा कर्जा प्रवाह ४.४ प्रतिशतले बढ्यो, कुल लगानी ५७ खर्ब नाघ्यो
वि.सं.२०८२ चैत १९ बिहीवार १७:३८
shares

काठमाडौं, १९ चैत । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह ४.४ प्रतिशतले बढ्दै २ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँले वृद्धि भई कुल ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा ६.० प्रतिशत अर्थात् ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँले बढेको थियो। वार्षिक विन्दुगत आधारमा भने २०८२ फागुन मसान्तमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह ६.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
कर्जा वितरण संरचनाअनुसार कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत हिस्सा पुगेको छ। अघिल्लो वर्ष यो अनुपात क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।
संस्थागत आधारमा हेर्दा समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १।९ प्रतिशतले वृद्धि भएको छ। कर्जाको धितो संरचनामा भने घरजग्गा धितोको हिस्सा अझै उच्च देखिएको छ। कुल कर्जामध्ये ६३.८ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ भने चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा १५.० प्रतिशत कर्जा प्रवाहित भएको छ। अघिल्लो वर्ष यस्तो अनुपात क्रमशः ६५.२ प्रतिशत र १४.५ प्रतिशत थियो।
क्षेत्रगत रूपमा कर्जा प्रवाहमा विविधता देखिएको छ। उपभोग्य क्षेत्रमा कर्जा १०.५ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रमा ८.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ७.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ५.६ प्रतिशत र सेवा उद्योग क्षेत्रमा १.८ प्रतिशतले वृद्धि भएको छ। तर कृषि क्षेत्रमा कर्जा २.० प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा २.७ प्रतिशतले घटेको छ।
कर्जाका प्रकारअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा २३.२ प्रतिशतले वृद्धि भएको छ भने मार्जिन कर्जा ११.१ प्रतिशत, हायर पर्चेज कर्जा ८.६ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ३.९ प्रतिशत, रियल स्टेट कर्जा ३.५ प्रतिशत, आवधिक कर्जा ३.२ प्रतिशत र क्यास क्रेडिट कर्जा १.६ प्रतिशतले बढेको छ। यद्यपि अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने २.७ प्रतिशतले घटेको छ।



















